एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि पराजित

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि पराजित

नेकपा एमालेमा लगातार हेबीवेट मानिएका नेताहरुले पराजय बेहोर्नु परिरहेको छ। इश्वर पोखरेलदेखि शंकर पोखरेल जस्ता वेबीवेट नेताहरुले चुनाव हारेपछि स्तब्ध भएको नेकपा एमालेलाई पुनः अर्को झट्का लागेको छ।

गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्। शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्। निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ। यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

दाङमा एमाले सबैठाउँ पराजय 

Europass CV in Nepal

एमालेको महासचिव बनेपछि शंकर पोखरेलका लागि यो आम चुनाव प्रतिष्ठाको विषय थियो । तर गृहजिल्ला दाङका संघ प्रदेश गरी सबै निर्वाचन क्षेत्रमा एमाले हार्न पुगेको छ । दाङमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै गठबन्धनले जित निकालेको हो ।

प्रभावशाली नेता र भविष्यको प्रधानमन्त्रीका सम्भावित आकांक्षीमध्ये एक ठानिएका स्वयं महासचिव पोखरेल पनि दाङ-२ बाट गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग झिनो मतअन्तरले पराजय भए ।

माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतले पराजित हुँदा शंकरले २६ हजार ६८१ मत ल्याए । रेखाले भने २६ हजार ८७७ मत ल्याइन् ।महासचिव पोखरेलको यो हारले राष्ट्रिय राजनीति तरंगित भएको छ । महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र पनि सन्नाटा छाएको छ ।

निर्वाचनमा होमिदै गर्दा पाँच दलीय गठबन्धन हराउँदै महासचिव पोखरेलसहित सबै क्षेत्रमा जित निकाल्ने एमालेको दाबी थियो । तर दाङका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा एमालेलाई गठबन्धन भारी पर्‍यो । फलतः एमालेले सबै निर्वाचन क्षेत्रमा हार व्यहोर्नु पर्‍यो ।

दाङका प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भए । दाङ–१ को प्रतिनिधिसभा सदस्यमा एमालेका शान्ता चौधरीलाई ५ हजार ८४ मत अन्तरले हराउँदै नेकपा एकिकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । मेटमणिले २६ हजार ५६३ मत ल्याउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् ।

दाङ-३ मा पनि एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भए । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । तीन वटै निर्वाचन क्षेत्रमा परिणाम गठबन्धन सामु एमाले कमजोर देखिन्छ ।

प्रदेशसभा तर्फ पनि गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । दाङ–१ कै प्रदेश ‘क’ मा एमालेका गंगाराम भट्टराईलाई हराउँदै माओवादीका इन्द्रजित थारु विजयी भएका छन् ।प्रदेशसभा ‘ख’ मा पनि गठबन्धनका कुलबहादुर केसीलाई हराउँदै कांग्रेसका अनुराग खड्का विजयी भएका छन् ।

दाङ– २ का प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धन विजयी भएको छ । प्रदेश ‘क’ नेकपा एमालेका बलीभद्र रानालाई हराउँदै कांग्रेस राजु खनाल विजयी भए । प्रदेश ‘ख’ पनि एमालेका गिरिराज केसीलाई पराजित गर्दै कांग्रेसका प्रचण्डविक्रम न्यौपाने गुन्टु विजयी भए ।

दाङ–३ ‘१’ र ‘२’ मा पनि गठबन्धनले एमालेका उम्मेदवारलाई हराए । प्रदेशसभा ‘क’ मा एमालेका घनश्याम पाण्डेलाई हराउँदै कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी भए भने प्रदेश ‘२’ एमालेका हुकुम बस्नेतलाई हराउँदै धनबहादुर ‘मास्की’ विजयी भए । यसले दाङमा एमाले पत्तासाफ हुने देखाउँछ ।