मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अजको नतिजाबाट कतार समूह चरणबाटै बाहिरिने लगभग पक्का

Himali Patrika 1 मिनेट पढाइ

९ मंसिर, काठमाडौं । आयोजक कतारले घरेलु मैदानमा भइरहेको फिफा विश्वकप फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ ।

मोहमेद मुन्तारीले कतारका लागि विश्वकप फुटबलमा पहिलो गोल गरे पनि समूह ए को खेलमा कतार सेनेगलसँग ३-१ ले पराजित भयो । कतार उद्घाटन खेलमा इक्वेडरसँग २-० ले पराजित भएको थियो ।

विश्वकपको ९२ वर्षे इतिहासमा उद्घाटन खेल हार्ने पहिलो टिमको खराब कीर्तिमान बनाएको कतार लगातार दुई हारपछि समूह चरणबाटै बाहिरिने लगभग पक्का छ ।

आयोजकको रुपमा समूह चरणमा एक भन्दा बढी खेल हार्ने कतार पहिलो आयोजक टोली समेत बनेको छ ।

कतारले अब नेदरल्याण्ड्ससँग अन्तिम खेल खेल्न बाँकी छ । उता पहिलो खेलमा पराजित भएको सेनेगल जारी विश्वकपमा जित निकाल्ने अफ्रिकाको पहिलो टिम बनेको छ । पहिलो खेलमा सेनेगल नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

कतारलाई हराएपछि सेनेगलको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै छ ।

यस समूहका नेदरल्याण्ड्स र इक्वेडरबीचको खेल आजराति हुँदैछ । उक्त खेल नेदरल्याण्ड्स विजयी भए वा खेल बराबरी भए कतार अन्तिम खेलअघि नै औपचारिक रुपमै बाहिरिनेछ ।

अल थुमामा रंगशालमा भएको खेलमा सेनेगललाई जित दिलाउन बोउलाये डियाले ४१औं, फामारा डाइधिउले ४८औं र बाम्बा डियाङले ८४औं मिनेटमा गोल गरे । कतारका लागि मुन्तारीले ७८औं मिनेटमा सान्त्वना गोल गरे । मुन्तारीको गोल विश्वकपमा कतारको पहिलो गोलको रुपमा भने सम्झिइनेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।