केपी ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला हुन्ः रामनारायण बिडारी

केपी ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला हुन्ः रामनारायण बिडारी

काठमाडौं, २ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलाले पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति गर्नुभएको छैन । नेपालमा केपी शर्मा ओली झुटलाई सत्य साबित गर्न, जनतालाई झुक्याउन र भ्रम पार्न माहिर हनुहुन्छ । उहाँले बोलेका प्रायः कुरा झुटा नै हुन्छन् ।

जनयुद्धका बेला केपी ओली राजा ज्ञानेन्द्रका खेताला हुन् । माओवादीजस्तो क्रान्तिकारी पार्टीका तर्फबाट जनयुद्ध हाँकेको जननायक प्रचण्डले त्यस्तो गर्ने कुरै आउँदैन । उहाँले त बरु म खेताला, नोकरचाकरसँग, जुत्ताको तलुवासँग कुरा गर्दिनँ, तिम्रा मालिकसँगै कुरा गर्छौं, ओपन्ली भन्नुभएकै थियो । यिनीहरु त राजतन्त्र टिकाउनका लागि क्रान्तिकारी नेताको टाउको काटेर झोलामा ल्याऊ लाखौं लाख दिन्छौं भन्थे ।”

Europass CV in Nepal

तपाईंहरु व्यक्तिहत्या, राजनीतिक दलको गतिविधि निषेधमा लाग्नुभएको थियो । ज्ञानेन्द्रको अभिनन्दनमा केही गर्नुहुन्नथ्यो, हिसिला यमीको किताबमा बाँदरमुढे घटनापछि प्रचण्ड गणतन्त्रवादी भएको भनेर लेखिएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा बिडारीले भने, “तत्कालीन माओवादी राजा ज्ञानेन्द्रसँग नलडे पनि ज्ञानेन्द्रको शाही सेनासँग लडिरहेको थियो । जनवादी, समाजवादी प्रणालीमा जे माग हुन्छ, माओवादीको माग त्यही हो । प्रचण्डको आलोचना गर्ने भए बरु कम्युनिस्टका निम्ति युद्ध गर्नुभएको थियो, पुँजीवादी व्यवस्थामा सम्झौता गर्नुभयो भनेर गर्न सकिएला ।

दुइटा शक्तिले एकअर्कालाई जित्न नसकेको अवस्थामा सम्झौता भएको हो । खाइपल्केका एमालेका केपी ओलीजस्ता कपुतहरुलाई संविधानसभामार्फत संविधान, गणतन्त्र, समावेशी सिद्धान्तमा सहमत गराउनु प्रचण्डको सफलता हो । जनयुद्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुने कुरा कल्पना थिएन । ओलीहरु त राजाको ताबेदारी भएर राजतन्त्र चाहिन्छ भन्ने मान्छे हुन् । कमल थापा नै गणतन्त्रवादी भइसकेपछि ओली हुनु कुन ठूलो कुरा हो र ?”

सुधारिएको लोकतन्त्रमार्फत साम्यवाद र समाजवादतिर जान पक्षमा माओवादी रहेको पनि उनले बताए । माओवादीको राष्ट्रिय सम्मेलनमा युवाहरुको प्रतिनिधित्व कति हुन्छ भन्ने प्रश्नमा उनले थपे, “माओवादीको राष्ट्रिय सम्मेलनमा सबै पदमा जान प्रतिस्पर्धा भएको छ । २० प्रतिशतभन्दा बढी युवा र ३५ प्रतिशत कम नहुने गरी महिला प्रतिनिधित्व हुन्छ । केन्द्रीय जनवादी नीतिअनुसार वडादेखि केन्द्रसम्म प्रतिस्पर्धा छ ।”

Europass CV in Nepal