जिम्मेवारी लिनुअघि ‘ज्यूँदो सहिद’ भेट्न पुगे कांग्रेस महामन्त्री शर्मा

जिम्मेवारी लिनुअघि ‘ज्यूँदो सहिद’ भेट्न पुगे कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ । ‘ज्यूँदो सहिद’ को नामले चिनिने जनआन्दोलन २ का घाइते मुकेश कायस्थलाई भेट्न कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा बनेपास्थित कायस्थकै निवासमा पुगेका छन् ।

१४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएलगत्तै उनी जनआन्दोलनका घाइते कायस्थलाई भेट्न काभ्रे पुगेका हुन् । कायस्थको पछिल्लो स्वास्थ्य अवस्थाबारे बुझ्दै उनले नयाँ जिम्मेवारी सुरु गर्नुअघी मुकेशलाई भेट्न आएको प्रतिक्रिया दिए ।

‘जनआन्दोलन २ सफल गराउन भूमिका खेलेका मुकेशजस्ता योद्धालाई भेट्दा बाटो नबिराउन आफूलाई प्रेरणा मिल्ने’ शर्माले बताएका थिए । शर्माले कांग्रेसको महामन्त्री पदको जिम्मेवारीलाई गहिरो अनुभूति गर्न र इमान्दार ढंगले काम गर्न मुकेश कायस्थ र मुकेशलाई जन्म दिने माता पितालाई छोएर शपथ खान आएको बताएका थिए ।

Europass CV in Nepal

आमा मीरा कायस्थ, बाबु कृष्णप्रसाद लगायतले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए । आमा मीराले सरकारले गरेको सम्मान र सहयोगप्रति आफु खुसी नै भएको भन्दै मुकेश जस्ता घाइतेको सम्झनामा प्रतिष्ठान निर्माण गरिदिन अनुरोध गरिन् ।

दोस्रो जनआन्दोलनको क्रममा २०६२ चैत्र ७ गते कञ्चटमा गोली लागेर घाइते भएका मुकेश त्यसयता अर्धचेत अवस्थामा छन् । निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक विरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए ।

झोल कुरा खुवाउन पेटमा प्वाल पारिएको भए पनि केही समयदेखि त्यो पनि अवरुद्ध छ । ११ महिना वीर अस्पताल, ५ महिना डा. उपेन्द्र दवकोटाको न्यूरो अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचारपछि ५ महिना अनामनगरमा स्पर्श थेरापी पनि गरिएको छ ।

उनको उपचारमा संलग्न डा. उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए । मस्तिष्कको ४ भागमध्ये ३ भाग नष्ट भएको छ उनको ।

स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य कार्यालयमार्फत् भुक्तानी हुँदैआएको रकम संघीय संरचनापछि नगरपालिकाबाट हुँदैआएकोमा २ वर्षदेखि रोकिएको थियो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको छ ।

Europass CV in Nepal