यी अवैध बस्ती खाली गर्न प्राधिकरणको ३५ दिने अल्टिमेटम, अटेर गरे डोजर आउने

यी अवैध बस्ती खाली गर्न प्राधिकरणको ३५ दिने अल्टिमेटम, अटेर गरे डोजर आउने

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन भनेको हो ।त्यस्ता संरचना ३५ दिनभित्र खाली गरी सो को जानकारी प्राधिकरणलाई गराउन सूचनामा भनिएको छ । साथै अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाउने र हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने पनि प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती नदी किनारको सुकुम्बासी बस्ती हटाउने प्रयास गरिरहेको अवस्थामा प्राधिकरणले पनि ३५ दिने सूचना निकालेको छ ।

Europass CV in Nepal

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘उपत्यकाका नगरहरुको पुनर्निर्माण, विकास र विस्तार मार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको र उक्त मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम यस प्राधिकरणमा रहेकाले काठमाडौं उपत्यका भित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गरी सो को जानकारी यस प्राधिकरणलाई गराउन यो सूचना प्रकाशन गरिएको छ ।’

प्राधिकरणले भनेको छ, ‘त्यसरी नहटाएमा उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

Europass CV in Nepal