प्रतिस्पर्धा रोजगारी सिर्जना गर्नुपर्नेमा हो, तर वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको छ : गगन थापा

प्रतिस्पर्धा रोजगारी सिर्जना गर्नुपर्नेमा हो, तर वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको छ : गगन थापा

मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वृद्धभत्ता पाउने उमेर घटाउने प्रतिस्पर्धा चलेको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आर्थिक गतिविधि चलायमान बनाउन र रोजगारी सिर्जनामा हुनुपर्ने प्रतिस्पर्धा वृद्धभत्ता पाउने उमेर घटाउनमा भइरहेको बताए ।

‘मलाई त अब प्रतिस्पर्धाको बेलामा ५० वर्षमा नै वृद्धभत्ता दिन्छन् कि जस्तो लागेको छ । प्रतिस्पर्धा भनेको छ, देखाइदिन्छौँ भनेको छ, नयाँ आउने प्रधानमन्त्रीले नेपालमा १ वर्षभित्रमा मैले कति नयाँ रोजगारी सिर्जना गर्छु, कति सेक्टरमा र डिसेन्ट पे पाउने रोजगारी सिर्जना गर्छु भन्ने कुरालाई मानक बनाउनुपर्ने हो । भाष्य नै हामीले गलत बनाएका छौं’ उनले भने ।

केन्द्र सरकारको सिको गर्दैै अहिले स्थानीय सरकारमा पनि बजेट वितरणमुखी बनाउन प्रतिस्पर्धा भइरहेको थापाले टिप्पणी गरे । ‘माथिबाट सरेर अहिले स्थानीय सरकारमा पनि गएको छ । स्थानीय सरकारमा पनि प्रतिस्पर्धा छ । कसले कति बाँड्ने भन्ने प्रतिस्पर्धा छ । हामीले इनोभेटिभ हुने ठाउँलाई बन्द गरिदियौं’ उनले भने ।

Europass CV in Nepal

महामन्त्री थापाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अब बन्ने प्रधानमन्त्रीले आँट गरेर निजी क्षेत्र र सरकारबीचको सम्बन्ध सुदृढ बनाउनुपर्ने बताए । निजी क्षेत्र र सरकारबीच कसरी सहकार्य गर्ने भन्नेबारेमा खुला छलफल हुनु जरुरी रहेको पनि उनको भनाइ छ ।

निजी क्षेत्र र सरकार चलाउनेबीच किन पारदर्शी छलफल हुँदैन भन्दै महामन्त्री थापाले अब सरकारको नेतृत्व गर्ने व्यक्तिले आगामी ५ महिनाभित्रमा अर्थतन्त्रलाई सुदृढ बनाउन के गर्ने भन्ने बारेमा खाका तयार गर्नुपर्ने धारणा राखे ।

 

Europass CV in Nepal