मेयर बालेन शाहविरुद्धको नाराबाजीप्रति मधेशी आयोगको चासो

मेयर बालेन शाहविरुद्धको नाराबाजीप्रति मधेशी आयोगको चासो

१५ मंसिर, काठमाडौं । मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई आग्रह गरेको छ ।

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । त्यस क्रममा मधेशी समुदायमाथि अपमानजनक शबक्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको आयोगले बताएको छ ।

आयोगकी उपसचिव सविता डंगोलले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘…थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ ।’

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार गरेको बताए ।

हेर्नुहोस् मधेशी आयोगको पत्र

मिति: २०७९।०८।१५

श्री गृह मन्त्रालय, सिंहदरवार, काठमाडौ ।
श्री प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाण्डौं ।

विषय: आवश्यक कारवाही गर्न सिफारिश गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा मिति २०७९।०८। १४ गते एउटा भिडियोमा थापाथली स्थित
सुकुम्बासी जग्गा सम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक
व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई धोती, मधेशी, भिखारी जस्ता अपमानजनक शब्द प्रयोग
गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र्‌ सामाजिक सदभाव तथा राष्ट्रिय एकता खलल पार्ने
कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्नको लागि
आदेशानुसार अनुरोध छ । साथै उजुरी पाना पाँच यसै पत्र साथ संलग्न राखी पठाइएको ब्यहोरा
अनुरोध छ ।

(सविता डंगोल)