अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने

अमेरिका, मलेसियासहित ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने

कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ।

Advertisement. Custom Text

शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै युरोपेली मुलुकहरूसहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको हो।

सात दिनपछि कोरोना परीक्षण गराउनुपर्नेछ। नतिजा नेगेटिभ आए सात दिन फेरि घरमै क्वारेन्टिन बस्नुपर्ने विज्ञप्तिमा भनिएको छ। नतिजा पोजेटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विज्ञप्तिमा उल्लेख छ।

१२ वर्ष माथिकालाई आइतबारदेखि खोप

Advertisement. Custom Text

सरकारले बालबालिकाका लागि आइतबारदेखि ५७ जिल्लामा कोभिडविरुद्धको मोडर्ना खोप दिने भएको छ । १२ देखि १७ वर्षसम्मकालाई पुस १४ सम्म उक्त खोप दिइनेछ । खोपको दोस्रो डोज माघ २ देखि १२ सम्म दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको संख्या ३४ लाख २५ हजार ४ सय ८ छ ।
यस्तै, पुस १३ देखि २२ सम्म आठ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने सरकारी तयारी छ । फाइजरको अर्को डोज माघ ४ देखि १३ सम्म दिइनेछ । ‘जुन जिल्लामा अत्यन्त न्यून तापक्रममा खोप भण्डारण गर्ने क्षमता छ, त्यहाँ फाइजर र त्यो क्षमता नभएका जिल्लामा मोडर्ना खोप दिइने भएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । फाइजर माइनस ७० डिग्री सेल्सियस र मोडर्ना माइनस २० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरिन्छ ।

साविकको खोप केन्द्रसँगै विद्यालयमा समेत केन्द्र विस्तार गर्न सकिने डा. अधिकारीले बताए । प्रदेश १ को झापा, मोरङ, सुनसरी, प्रदेश २ को सप्तरी, धनुषा, पर्सा, गण्डकीको कास्की, बागलुङ, लुम्बिनीको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ जिल्लामा फाइजर खोप अभियान सञ्चालनबारे पछि मिति तोकिने उनले जानकारी दिए ।

फाइजर खोप १२ वर्षमाथिको उमेर समूहमा प्रभावकारी मानिएको छ । दुई डोज लिएकामा खोप नलिनेको दाँजोमा लक्षणयुक्त कोभिडले ग्रस्त हुने सम्भावना ९५ प्रतिशत कम देखिएको वैज्ञानिक अध्ययनले देखाएका छन् । खोप लिएको दुईदेखि तीन सातापछि कोभिडविरुद्ध शरीरमा एन्टिबडी उत्पन्न हुन थाल्छ । फाइजरको दुई डोज ३ देखि ६ साताको अन्तरमा लगाउनुपर्छ । १२ देखि माथिको उमेर समूहलाई प्रभावकारी मोडर्ना भने ४–६ साताको अन्तरमा दुई डोज लगाउनुपर्छ ।

शुक्रबारसम्म अनुदान र खरिद गरी ३ करोड ५४ लाख ६६ हजार ९ सय ८० डोज खोप भित्रिएको छ भने मार्चसम्म थप करिब ३ करोड डोज आउनेछ । देशभर २ करोड १४ लाख ४५ हजार १ सय ४५ डोज लगाइएको छ । एक डोजमात्र लगाउने ३९.२ प्रतिशत अर्थात् १ करोड १९ लाख १३ हजार ८ सय ८६ जना छन् भने पूर्ण खोप लिनेको संख्या ३१.४ प्रतिशत अर्थात् ९५ लाख ३१ हजार २ सय ५९ छ ।

नेपालसमेत कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को जोखिम रहेको अवस्थामा बुस्टर डोज लगाउन विज्ञहरूले सुझाव दिइरहेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप लगाउन मिल्ने सबै नागरिकलाई सरकारले बुस्टर डोज नि:शुल्क दिन तयारी थालेको बताएका थिए । तर, सरकारले अझै यसबारे निर्णय लिन सकेको छैन । हाल १ करोड ४० लाख २१ हजार ८ सय ३५ डोज भण्डारमा छ ।

मोडर्ना खोप कहाँ–कहाँ ?

प्रदेश १ का ११ जिल्ला : ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर
प्रदेश २ का ५ जिल्ला : सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा
वाग्मतीका ७ जिल्ला : दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर
गण्डकीका ९ जिल्ला : गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत
लुम्बिनीका ९ जिल्ला : रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया
कर्णालीका ९ जिल्ला : डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान
सुदूरपश्चिमका ७ जिल्ला : बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर

फाइजर खोप कहाँ–कहाँ ? : काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत