मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

Himali Patrika 1 मिनेट पढाइ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।

बुधवार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए । मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी गरे ।

सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए । सिधा/सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए ।

कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन्? भनेर प्रश्न समेत गरे । देशमा ओली प्रवृति हावी भएपछि पटक पटक संविधानको रक्षाको लागि दिनरात लागेको स्मरण गरे ।

कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’ जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।

विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार नै सर्लाही आइपुगेका अध्यक्ष नेपाल पार्क उद्घाटनपश्चात काठमाडौं लागेको नेकपा(एस) जिल्ला कमिटीले जनाएको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।