गठबन्धनमा माधव नेपालले खोजे सम्मानजनक भाग, प्रधानमन्त्रीमा माधवको पनि दाबी

गठबन्धनमा माधव नेपालले खोजे सम्मानजनक भाग, प्रधानमन्त्रीमा माधवको पनि दाबी

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको मत परिणाम अन्तिम चरणमा पुगेपछि दलहरू सरकार गठनतर्फ केन्द्रित भएका छन् । १६५ निर्वाचन क्षेत्रमध्ये दोलखा, बाजुरा र स्याङ्जा २ को मात्रै मत परिणाम आउन बाँकी छ ।

अहिलेसम्म प्रत्यक्षमा कांग्रेसले ५५, एमालेले ४४, माओवादीले १७, नेकपा एसले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाले ७/७, लोसपाले ४, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेमकिपाले ११ तथा स्वतन्त्रले ५ सीट जितेका छन् ।

सत्ता गठबन्धनको पक्षमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई समेत सामेल गराएर बहुमतको सरकार गठनको गृहकार्य सुरू भइसकेको छ । प्रत्यक्षमा एक सीट जिते पनि समानुपातिकमा थ्रेसहोल्ड कटाउने निश्चित भएकाले जनमतको कम्तिमा ४ जना सांसद हुने देखिएको छ ।

गठबन्धनको पक्षमा बहुमत पुर्‍याउन शीर्ष नेताहरूले स्वतन्त्र जितेकाहरूको पनि समर्थन जुटाउने प्रयास गरिरहेका छन् । गठबन्धन दलका शीर्ष नेताहरूमा गठबन्धन सरकार बनाउने समझदारी बने पनि नेतृत्वको विषय टुंगिन सकेको छैन ।

गठबन्धन दलको सबैभन्दा ठूलो घटक कांग्रेसमा शेरबहादुुर देउवा, गगन थापासहित ६ जना मुख्य रूपमा दाबेदार देखिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

कांग्रेसले आफ्नै नेतृत्वको स्थिर सरकार बनाउने कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताउँदै आएका छन् । तर, गठबन्धन दलमा प्याकेजमा सहमति हुँदा देउवा आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन लचक देखिन्छन् । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अब बन्ने सरकारको नेतृत्वमा प्रचण्ड आउन खोजेका छन् ।

तर, ४६ सीटमा उम्मेदवारी दिएको माओवादी केन्द्रले निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन सकेन । त्यसो त गठबन्धनबाट आलोपालो सहमति हुँदा प्रचण्डको प्रधानमन्त्री हुुने सम्भावना रहेको महासचिव देव गुरूङले नेपालप्रेससँगको अन्तर्वार्तामा बताइसकेका छन् ।

प्रधानमन्त्रीमा माधवको पनि दाबी
प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मुख्य संवैधानिक पदमा नेकपा एसका अध्यक्ष माधव नेपालले पनि सम्मानजनक भाग खोज्ने तयारी गरेका छन् ।

कांग्रेस र माओवादीबीच आधाआधा कार्यकाल भागबन्डा हुने चर्चा चलिरहेको वेलामा प्रधानमन्त्रीमा अध्यक्ष नेपालले पनि दाबी गरेको उनी निकट एक नेताले बताए ।ती नेताले नेपाल प्रेससँग भने, ‘गठबन्धन दलमा प्याकेजमा भागबन्डा हुने भए पनि उहाँ (माधवजी)को पनि प्रधानमन्त्रीमा दाबी स्वाभाविक रहन्छ । हामीले पाँच वर्षे कार्यकालमा कांग्रेस र माओवादीलाई दुई-दुई वर्ष र एक वर्ष हाम्रो दाबी रहन्छ ।’

केन्द्रमा मात्रै नभएर प्रदेशमा मुख्यमन्त्रीसहित सरकारमा आफ्नो पार्टीको सम्मानजनक उपस्थिति हुनुपर्ने ती नेताको तर्क छ ।‘अरूका लागिमात्रै हामीले कति त्याग गर्ने ?’, ती नेताले प्रश्न गर्दै भने, ‘हामीले गरेको त्यागअनुसारको प्याकेजमा पावर शेयरिङमा हाम्रो जोड रहन्छ । हामीले गठबन्धन गरेकै कारणले अहिले कांग्रेस पहिलो दल बन्न सकेको छ । माओवादीलाई पनि केही हदसम्म फाइदा नै भएको छ ।’

नेकपा एसले प्रधानमन्त्रीसहित राष्ट्रपति र सभामुखमध्ये एक पद, एक मुख्यमन्त्रीसहित संवैधानिक र राजनीतिक पदमा प्याकेजमा भागबन्डा हुनुपर्ने अडान राखेको छ ।प्रत्यक्षमा गठबन्धनको आडमा १० सीट जिते पनि नेकपा एस समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्ने सम्भावना न्यून छ ।

त्यसो त बिहीबार नै शहरी विकासमन्त्री एवम् नेकपा एसका नेता मेटमणि चौधरीले त्यसको संकेत गरेका थिए । उनले भनेका थिए, ‘गठबन्धनकै सरकार निर्माणको विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । अब पाँच वर्ष गठबन्धनकै सरकार बन्छ । त्यसमा कन्फ्युज हुनुपर्ने केही कुरा छैन ।’

कांग्रेसको साथ नछाड्ने
त्यसो त सरकार गठनको भागबन्डा नमिल्दा गठबन्धन टुटे पनि आफूहरूले कांग्रेसको साथ नछाड्ने ती नेताले प्रस्ट पारे । गठबन्धनमा प्रचण्डले प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्न गएको अवस्थामा पनि उनले आफूहरूको कांग्रेसको साथ नछाड्ने प्रस्ट पारे ।

गठबन्धनको बलमा पहिलो दल बनेको कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन अस्वीकार गरेको अवस्थामा उनले गठबन्धन छाड्नसक्ने चर्चा छ । तर, त्यो कुरा प्रचण्डले अहिलेसम्म अस्वीकार गर्दै आएका छन् ।

एमाले र माओवादीका दोस्रो तहका नेताहरूले भने वामपन्थी सरकार बनाउनुपर्ने भन्दै नेतृत्वलाई दबाब दिँदै आएका छन् । निर्वाचन परिणामअनुसार एमाले, राप्रपा र जसपामा माओवादी जोडिँदा सरकार बन्न पुग्ने अंकगणित भएकाले त्यो समीकरणलाई नर्कान नसकिने नेताहरूले बताउँदै आएका छन् ।

चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले बताए ।

प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब हामीले वाम सरकारका लागि अहिलेको दक्षिणपन्थी गठबन्धनलाई तोड्न प्रयास गर्नुपर्छ । नामले वाम भएकाहरू अहिले दक्षिणपन्थी गठबन्धनमा छन्, उनीहरूलाई पूर्वाग्रह नराखी गठबन्धनबाट बाहिर ल्याउने प्रयास गर्नुपर्छ ।’