रविको स्वतन्त्र पार्टीमा विवाद, सभापतिलाई कारबाही माग गर्दै ४७ जनाले दिए निवेदन

रविको स्वतन्त्र पार्टीमा विवाद, सभापतिलाई कारबाही माग गर्दै ४७ जनाले दिए निवेदन

भर्खरै सम्पन्न निर्वाचनमा सकारात्मक नतिजा हातपार्न सफल रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद भएको समाचार बाहिरिएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुरका सभापति राजकुमार न्यौपानेमाथि कारबाहीको माग गर्दै जिल्ला कार्यसमितिका ४७ जना सदस्यले केन्द्रीय कमिटिमा निवेदन दिएपछि उक्त विवाद बाहिर आएको हो।

निर्वाचनको दौरानमा पार्टीको हित विपरीत कार्य गरेको भन्दै न्यौपानेको राजीनामा माग गरिएको हो। जिल्ला सभापति न्यौपानेले निर्वाचनको अन्तिम समयमा समानुपातिक तर्फका उम्मेदवार नुर प्रसाद प्रजालाई विभिन्न प्रलोभनमा पारि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको घरमा बसेर बैठक गर्ने गरेको आरोप लागेको छ।

रास्वपाका जिल्ला कोषाध्यक्ष एवं मकवानपुर प्रतिनिधि सभा १ का उम्मेदवार टाकाराम थापा (सुरेस), मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला लगायतका ४७ जनाले अध्यक्षको राजीनामा माग गर्दै हस्ताक्षरसहित निवेदन बुझाएका छन् । अध्यक्ष राजीनामा नदिएको खण्डमा कार्यसमितिको सामूहिक राजीनामा आउने चेतावनीसहित उनीहरूले दिएका छन् ।