चुनाव सकिएसंगै एमालेसंगको सहकार्य सकियो : उपेन्द्र यादव

चुनाव सकिएसंगै एमालेसंगको सहकार्य सकियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा (एमाले) सँग आफ्नो दलले गरेको सहकार्य सकिएको बताएका छन्।आइतबार दिउँसो विराटनगर विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताए।

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ,’ यादवले भने।प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।

महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा अब सरकार बनाउने शक्तिहरूको दृष्टिकोण र प्रतिबद्धताका आधारमा समर्थन वा विरोध हुने यादवले बताए।‘नागरिकता बारेको मुद्दा त छँदैछ। तर, यो संविधानलाई नसच्याउने हो भने, निर्वाचन प्रणााली, शासकीय स्वरूप, न्याय प्रणाली, समावेशिता, पहिचानको सवाललाई जोड दिने, प्रदेशलाई अधिकार सम्पन्न नबनाउने हो भने र ठीकठाक नबनाउने हो भने यो सिस्टम नै कोल्याप्स हुनसक्छ’, यादवले भने, ‘त्यसैले संविधान संशोधनसँगै अन्य राष्ट्रिय मुद्दाहरू मधेशसँग, आदिवासी जनजातिसँग सम्बद्ध मुद्दाहरू, समावेशिता र आर्थिक संकटबारे लिने नीतिले हाम्रो समर्थन वा विरोध निर्धारण गर्नेछ।’

Europass CV in Nepal

उनका अनुसार मत परिणाम आइसकेपछि पार्टीको ‘वर्किङ कमिटी’को बैठकपछि छलफल हुनेछ।‘अहिले हामीलाई सरकारमा जाने कुनै हतार छैन। बरू अहिले माओवादीलाई बढी हतार देखिन्छ। हामीलाई हाइसन्चो छ। जसलाई हतार छ, अगाडि बढ्नका लागि शुभकामना छ’, उनले भने, ‘हामी भने अब केका लागि सहकार्य गर्ने वा समर्थन गर्ने भन्ने नीतिमा आधारित भएर निर्णय लिनेछौं।’

अब नयाँ धरातलबाट सहकार्य वा विरोध सुरू हुने उनको भनाइ छ।मुलुक आर्थिक रूपले निकै तल जाँदै गरेको उल्लेख गर्दै अध्यक्ष यादवले थपे, ‘मुलुकको अर्थतन्त्र कसरी जोगाउने, नेपाललाई आर्थिक रूपले कसरी सम्हाल्ने भन्ने जस्ता कुराहरू हेरेपछि मात्रै कसलाई समर्थन गर्ने निर्क्यौल हुनेछ। आँखा चिम्लेर समर्थन वा विरोध हुँदैन।’

पछिल्लो चुनावले कांग्रेस एमालेलाई निर्णायक बनाएको तर्क गरेका यादवले जसपाले उठाएको मुद्दा अझै उठाउन नपुगेको अनुभव भएको बताए।‘यो चुनावपछि हामीले उठाउँदै आएका राष्ट्रिय सवालहरू अझै उठाउन पुगेनछ भन्ने लागेको छ,’ उनले भने।अहिलेको चुनावी परिणामबाट लोकतान्त्रिक क्रान्तिकारीबीच सहकार्य र एकता जरूरी रहेको आवश्यकता देखिएको यादवले तर्क गरे।

‘परिवर्तनकारी शक्तिहरूले नेतृत्व गर्न नपाउँदा निराशाका कारण जनताले देश टुक्र्याउँछु भन्ने र राजा ल्याउँछु भन्ने शक्तिहरूलाई मत दिएको देखियो,’ उनले भने,‘यसले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य र एकताको खाँचो देखिएको छ।’आफ्नो पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने यादवको भनाइ छ।

‘केन्द्रमा एउटा नीति, प्रदेशमा अर्कै नीति भन्ने हुँदैन। देशैभरि एउटै नीति लिन्छौं,’ उनले भने। मंसिर ४ को चुनावको केही दिनअघिसम्म यादव नेतृत्वको जसपा सत्तारूढ गठबन्धनमा थियो। अन्तिममा केही क्षेत्रमा सिट बाँडफाँट गरेर उसले एमालेसँग चुनावी तालमेल गरेको थियो।

 

Europass CV in Nepal