काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ ।सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो । सर्वाधिक पाँच पटकको विजेता ब्राजिल कोरियालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
प्रशिक्षक टिटेले टिममा भएका सबै खेलाडी अवसर दिने क्रममा खेलको ८०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर एलिसन बेकरको स्थानमा वेभर्टनलाई मैदान पठाएका थिए ।
समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।
दोस्रो रोजाइका गोलकिपर एडरसनले यसअघि क्यामरुन विरुद्ध खेलिसकेका थिए । त्यसैले पाल्मेरियसका गोलकिपर वेभर्टनले कोरिया विरुद्ध अवसर पाए ।कोभिड १९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी टिममा राख्ने चलन सुरु भएको थियो भने विश्वपकमा पहिलो पटक एक टिममा २६ खेलाडी राखिएको हो । यसअघिका विश्वकपमा भने एक टिममा २३ खेलाडी मात्र हुन्थे ।
यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा नेदरल्याण्ड्सले टिममा भएका सबै २३ खेलाडीलाई प्रयोग गरेको थियो ।vतेस्रो स्थानको लागि ब्राजिल विरुद्ध भएको खेलमा नेदरल्याण्ड्सका गोलकिपर मिचेल भोर्न अन्तिम समयमा मैदान प्रवेश गरेपछि सबैले अवसर पाएका थिए ।