कतार विश्वकपमा पहिलो ह्याट्रिक गर्ने २१ वर्षे गोन्सालो रामोस को हुन् ?

कतार विश्वकपमा पहिलो ह्याट्रिक गर्ने  २१ वर्षे गोन्सालो रामोस को हुन् ?

काठमाडौं । पोर्चुगलका फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।मंगलबार राति लुसेल रंगशलामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा रामोसको ह्याट्रिकको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ गोलको नतिजमा पराजित गर्दै १६ वर्षपछि क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयाे ।
कप्तान तथा पोर्चुगलका मुख्य खेलाडी रोनाल्डोलाई बेन्चमा राख्दै मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रामोसलाई पहिलोपटक विश्वकपको सुरुआती ११ मा स्थान दिएका थिए ।

स्यान्तोसले गरेको विश्वासलाई २१ वर्षिय रामोसले आफ्नो जोडदार प्रदर्शनमार्फत जितमा परिणत गरे । स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेसँगै रामोस गोल्डेन बुट दौडमा एम्बाप्पेलाई पछ्याउने पाँचौं खेलाडी बनेका छन् । पाँच गोल गरेका एम्बाप्पेका पछि रामोससहित, अर्जेन्टिनाका लियोनल मेसी, ब्राजिलका रिचार्लिसन, फ्रान्सका ओलिभर जिरुड, इङल्यान्डका बुकायो साका र मार्कस रासफोर्डको समान तीन गोल रहेको छ ।

रामोस पोर्चुगलका लागि विश्वकपको नकआउट चरणमा तीन गोल गर्ने पहिलो खेलाडी बने । पोर्चुगल राष्ट्रिय टिमबाट चार खेल खेलेका उनले अन्तर्राष्ट्रिय गोल संख्या पनि चार पुर्याएका छन् । रामोसबाहेक पोर्चुगलको जितमा पेपे, राफेल जुरेरियो र राफेल लियोले गोल गरे ।

Europass CV in Nepal

रामोस को हुन् ?

डार्विन नुनेजलाई ८० मिलियन युरोमा लिभरपुललाई बेचेपछि बेन्फिकाले उनको स्थानान्तरणमा रामोसलाई पाएकोे थियो । १३ वर्षको उमेरमा रामोसले क्लब सेइक्सल एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका थिए ।

रामोस सन् २०१९ मा आयोजना भएको यू–१९ युरोको सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उक्त प्रतियोगितामा पोर्चुगल उपविजेता भएको थियो । त्यसपछि रामोस बेन्फिकाको पहिलो टिममा परेका थिए । जुलाई २०२० मा डिस्पोर्टिभो एभेसको स्थानमा ८५औं मिनेटमा मैदान प्रवेश गरेका रामोसले खेलमा कुनै समय वर्वाद नगरी डेब्यू खेलमै दुई गोल गरेका थिए ।

उनी सन् १९९८मा मार्क पेमब्रिजपछि बेन्फिकाबाट डेब्यु खेलमा गोल गर्ने पहिलो खेलाडी बने । रामोसले एक सिजनमा बेन्फिकाका चार फरक टिमबाट गोल गरेका छन् । उनले जुनियर, यू–२३, बेन्फिका ‘बी’ र पहिलो टिमबाट एकै सिजन गोल गरे ।

उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेकै कारण र पोर्चुगलका मुख्य फरवार्ड डिएगो जोता घाइते भएका कारण उनी स्यान्तोसको विश्वकप टिममा स्थान बनाउन सफल भएका थिए ।

 

Europass CV in Nepal