रास्वपा मुद्दा मिले अरु दलसँग मिलेर सरकारमा सहभागी हुन तयार

रास्वपा मुद्दा मिले अरु दलसँग मिलेर सरकारमा सहभागी हुन तयार

काठमाडौँ। प्रतिनिधिसभामा चौथो ठूलो दल बन्दै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुद्दा मिल्ने दलसँग सरकारमा सहभागी हुन तयार देखिएको छ । पाँचौं ठूलो दल बन्न लागेको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।

पहिलो पटक निर्वाचनमा भाग लिएर राष्ट्रिय पार्टी बनेको रास्वपाका नेताहरू निर्वाचनपूर्व आफूले गरेका वाचा पूरा गर्ने प्रतिबद्धता आए सरकारमा सहभागी हुन तयार रहेको बताउँछन् । कांग्रेस नेतृत्वको सत्तारूढ पाँचदलीय गठबन्धन र संसद्मा दोस्रो पार्टी बन्न लागेको एमालेका नेताहरूसँग उनीहरूले मुद्दाका आधारमा सरकारमा सहभागी हुने/नहुने निर्णय लिने बताउने गरेका हुन् ।

राप्रपाका नेताहरू भने अत्यावश्यक परे कुनै गठबन्धनलाई बाहिरैबाट समर्थन गर्ने तर सरकारमा सहभागी नहुने बताउँछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा सहभागी बन्नका लागि प्रस्ताव आइरहेको बताए । ‘सरकार हाम्रो प्राथमिकतामा छैन,’ उनले भने, ‘कुनै पक्षलाई सरकारमा बहुमत पुग्ने अवस्था रहेन र राप्रपाको समर्थनले बहुमत भएर सरकार गठन हुने अवस्था आए समर्थन गर्न सक्छौं, गठन अड्काउँदैनौं ।’ राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । ‘पाँचदलीय गठबन्धनसँग जाने कि एमालेसँग भन्ने विषयमा निर्णय गरेका छैनौं । हाम्रो प्राथमिकता प्रतिपक्षमा बसेर काम गर्नुपर्छ भन्ने छ ।’

Europass CV in Nepal

रास्वपाका प्रवक्ता मुकुल ढकाल मुद्दाका आधारमा राजनीति गर्नेमा पार्टीका सबै नेता एकमत रहेको बताउँछन् । ‘हामीले चुनावमा जनतासामु वाचा गरेका थियौं । पूरा गर्ने गरी दलहरूसँग सामान्य छलफल भइरहेको छ,’ उनले भने, ‘हामी स्पष्ट छौं, भागबन्डाका आधारमा होइन, एजेन्डाका आधारमा सरकारमा जाने/नजाने निर्णय गर्छौं ।’ केन्द्रीय समिति बैठक बसेर निर्णय गर्ने उनले बताए ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चा रहेको पाँचदलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० सिट जितेको छ । समानुपातिक प्रणालीबाट गठबन्धनलाई केही सिट नपुग्ने देखिएको छ । त्यसैले सत्तारूढ गठबन्धनले सत्ता साझेदारीका लागि अन्य दलसँग छलफल चलाइरहेको छ । प्रतिनिधिसभामा पहिलो पटक प्रतिनिधित्व गर्दै गरेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने संकेत गरिसकेका छन् । चुनावी तालमेल गरेका एमाले, राप्रपा र जसपाको प्रत्यक्षतर्फको सिट संख्या ५८ छ । निर्वाचन आयोगले समानुपातिकतर्फका १ सय १० सिट दलहरूलाई बाँडफाँट गर्न बाँकी छ ।