सुन्धाराको मूलधारा नष्ट हुने गरी डोजर चलाएको विषयमा बालेन साहले जनाए आपत्ति

सुन्धाराको मूलधारा नष्ट हुने गरी डोजर चलाएको विषयमा बालेन साहले जनाए आपत्ति

धरहरा पुनर्निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन्।

काठमाडौंको न्युरोडस्थित संकटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमुनाका रूपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिए।

उनले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गरे।रमण कन्स्ट्रक्सन कम्पनीले सुन्धाराको ठीक पछाडि ठूलो खाडल बनाई त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्यांकी निर्माण गर्ने क्रममा सो ऐतिहासिक संरचनाको मुख्य वस्तु (काठको लामो पाइप) नष्ट हुन गएको भन्दै आइतबार स्थानीय बासिन्दा, क्लबका प्रतिनिधि तथा वडा नम्बर २२ का अध्यक्षको सक्रियतामा उक्त निर्माण कार्यको विरोध भएको थियो।

Europass CV in Nepal

सो विरोधपछि आज प्रमुख बालेन साहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँ वर्ष पुरानो उक्त ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरी अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो । प्रमुख साहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सरसल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रस्ट पारे।

सो अवसरमा प्रमुख साह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुन्धारास्थित ट्यांकी निर्माण भइरहेको स्थलमा अवलोकन गरी सम्पूर्ण निर्माणकार्य तत्काललाई रोक्न निर्देशन दिइएको छ।

रमण कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै सो ट्यांकी निर्माणलगायतका कार्य अघि बढाएको जानकारी दिँदै हाललाई निर्माण कार्य रोक्न कामदारलाई निर्देशन दिइएको बताए।

सो अवसरमा वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ।

ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति करिब दुई सय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिए तापनि सो पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। रासस