मोरक्कोका गोलरक्षक यासिन बोनोउ कुर्सीमै ढले । अविश्वास गर्दै आफ्नै टाउको छामे । अनि सोधे, ‘मलाई चिमोट त, म सपना देखिरहेको छु ।’ हो, साँच्चै मोरक्को विश्वकप २०२२ को सेमिफाइनल पुगेको छ । कतार जानु अगाडि यस उत्तरी अफ्रिकी देशले विश्वकपका पछिल्ला १६ खेलमध्ये जम्माजम्मी दुईवटा मात्र जितेको थियो । प्रशिक्षक पनि चार महिना पुराना मात्र थिए । खेलाडीको प्रतिभामा कुनै शंका थिएन ।
ती सबैले कमै सफलता मात्र चुमेका थिए ठुल्ठूला प्रतियोगितामा । तर, यही मोरक्कोले दोस्रो वरीयताको बेल्जियम र सन् २०१८ को उपविजेता क्रोएसियासम्मिलित समूहको विजेता बन्यो त ? समूह त जित्यो जित्यो, स्पेन र पोर्चुगलजस्ता युरोपेली क्लब फुटबलका दुई महारथीलाई हराएर कसरी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी देश बन्यो ? अनि कसरी अरब विश्वकपका लागि गर्व र उपलब्धिको प्रतीक बन्यो ?
यसका लागि केही श्रेय मोरक्को फुटबल संघको एक त्यस्तो बहादुरीपूर्ण निर्णयलाई पनि दिनुपर्छ, जसले नयाँ प्रशिक्षक वालिड रेग्रागुईलाई मात्र विश्वास गरेन, उसको रणनीतिको सम्मान गर्यो । सँगै मोरक्को टिममा त्यस्ता खेलाडी छँदै थिए, जो न त स्वार्थी थिए । ती थिए त गजबले प्रतिभाशाली । अहिलेसम्म मोरक्कोले तेर्स्याएको बलियो सुरक्षाचक्रलाई कसैले तोड्न सकेको छैन, अब के फ्रान्सले सक्छ त ? मोरक्कोको तरक्कीको राज यी हुन् ।
प्रशिक्षकमा परिवर्तन
अगस्टमा मोरक्कोको फुटबलमा एउटा ठूलै उथलपुथल भयो, जतिबेला अनुभवी बोस्नियाली प्रशिक्षक वाहिद हालिहोड्जिकलाई बर्खास्त गर्ने निर्णय गरियो । भलै उनले मोरक्कोलाई विश्वकपको अन्तिम चरणमा छनोट गराएका थिए, तर उनले मोरक्को फुटबलका सबैभन्दा ठूला नाम हकिम जिएचलाई टिममा बोलाउन भने अस्वीकार गरेका थिए । त्यसैले उनलाई बखासर््त गरियो । उनको स्थानमा मोरक्कोका पुराना खेलाडी रेग्रागुईलाई ल्याइयो । उनैले अब मोरक्को फुटबलको सबैभन्दा ठूलो इतिहास रचेका छन् ।
परिपक्व टिम
मोरक्को टिम खासैमा बलियो छ । किनभने अधिकांश खेलाडी युरोपका ठूला लिगमा खेल्छन् । टिमका दुई फुलब्याक्स अचरफ हकिमी र नउसैर माज्राउई क्रमशः पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिकका लागि नियमित खेल्ने खेलाडी हुन् । यस्तै विंगर जिएच चेल्सीका लागि र गोलरक्षक बोनोउ र स्ट्राइकर युसेफ इन–नेसरी स्पेनको सेभियाबाट खेल्छन् । सोफयान अम्राबात इटालीको फिओरेन्टिनाका डिफेन्सिभ मिडफिल्डर हुन् ।
सेन्टर ब्याक नएफ अगुर्ड इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामका लागि खेल्छन् । कप्तान रोमेन साइस भने उल्भसबाट खेलिरहेका छन् । यस्तोमा प्रशिक्षक रेग्रागुईको एउटै मात्र काम थियो, यिनै खेलाडीलाई एकजुट गरेर टिम बनाउने अनि यही टिमबाट नतिजा ल्याउने । सायद उनले सेमिफाइनलसम्म पुग्ने सपना देखेका थिएनन् कि ? तर, यस्तो भने पक्कै भन्थे, ‘कोही पनि विश्वकपमा तीन खेल खेल्ने आउँदैनन् ।’
रणनीति
रेग्रागुईले टिमलाई ४–१–४–१ को शैलीमा खेल्न माहिर बनाए । यस शैलीमा रक्षात्मक खेलाडी पछाडि रहेर खेल्छन् । विश्वकपका ठूला टिमविरुद्ध मध्यपंक्तिका चार खेलाडी पनि पछाडि रहेर नै खेल्छन् । यसले गर्दा मोरक्कोको रक्षापंक्ति निकै बलियो भएको छ । त्यस स्थितिमा एन–नेसरी एकमात्र स्ट्राइकर हुने गर्छन् । जतिबेला प्रतिद्वन्द्वी टिमले बलमाथि नियन्त्रण गुमाउने गर्छ, त्यतिबेला टिमले प्रत्याक्रमण बुन्ने गर्छ । अनि टिममा एकाएक ६ खेलाडी आक्रामणमा हुने गर्छन् ।
यसका लागि निकै अनुशासित र उत्तिकै बलियो मानसिकता आवश्यक पर्छ खेलाडीमा । रेग्रागुई भन्छन्, ‘हाम्रो खेल योजना प्रस्ट छ, सबै खेलाडीले मिहिनेत गर्नुपर्छ । हामीले पूरा विश्वसामु प्रमाणित गरिसकेका छौं, कोही कसैमा प्रतिभा र पैसाको कमी छ भने पनि त्यो टिमले राम्रो गर्न सक्छ ।’
यसै रणनीतिमा रहेर मोरक्कोले एक गोलमात्र खाएको छ र असाधारण यात्रा तय गरेको छ । त्यो पनि आत्मघाती गोल । त्यसको अर्थ हो, क्रोएसिया, बेल्जियम, स्पेन र पोर्चुगल कसैले पनि मोरक्कोको रक्षापंक्तिमा भेद गर्न सकेनन् ।