मेलम्चीको पानि काठमाडौँका सडकमा, पाइप फुटेर जताततै हिलाम्य भयो सडक

मेलम्चीको पानि काठमाडौँका सडकमा, पाइप फुटेर जताततै हिलाम्य भयो सडक

२६ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंका विभिन्न सडक खण्डमा पाइप फुटेर सडकमा पानी निस्किने र जम्ने समस्या व्यापक छ । स्थानीय बासिन्दा, व्यापारी, सवारी चालक र पैदलयात्रु यसका कारण सास्ती ब्यहोर्नु परिरहेको छ ।

मेलम्चीको पानी ठाउँअनुसार नयाँ र पुरानो दुवै लाइनबाट वितरण सुरु गरेपछि प्रणालीले थेग्न नसकेर समस्या देखिएको हो । पानी वितरण गर्नेदेखि वितरणलाइन र ढल प्रणालीको मर्मत, सुधार र व्यवस्थापन गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा न अधिकारसहितका व्यवस्थापक छन्, न पारित भएको वार्षिक बजेट तथा कार्यक्रम । यसले गर्दा संस्था नै ‘प्यारालाइज्ड’ अवस्थामा पुगेको अधिकारीहरुको गुनासो छ ।

शुक्रबारदेखि मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमा पानी बग्ने समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । केयूकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की धेरै ठाउँमा समस्या देखिएकाले समाधानको प्रयास भइरहेको बताउँछन् ।

Europass CV in Nepal

‘सुरुमा केही दिन रित्ता ट्यांकीहरु भर्न पर्याप्त पानी खपत हुन्छ, त्यसपछि प्रणालीमा पठाएको पानी पनि कम खपत हुन्छ,’ उनले भने,‘त्यस्तो अवस्थामा वितरण लाइनहरुले चाप थेग्न नसक्दा पनि पानी चुहावट हुन्छ ।’ परियोजना विकास निर्देशनालयले पाइपलाइनहरु हस्तान्तरण नगरेकाले पनि मर्मतको विषयमा अन्योल भएको उनको भनाइ छ । केयूकेएलका अनुसार अहिले कतिपय सडकमा पानीका भुल्काहरू देखिएका छन् भने कतै रसाइरहेका छन् । कतै सडकभरि पानी नै पानी छन् भने वर्षामा जस्तै पानी उछिट्याउँदै सवारी साधन हुँइकिइरहेका छन् ।

केयूकेएलका कर्मचारी पुगेर पानी प्रभावित क्षेत्रको पानी बन्द गर्न समेत ढिलाइ भइरहेको छ । जमेको पानीका कारण सडक हिलो नै जमेको छ । मूल झैं फुटेर निस्केको पानी कतै नालै–नाला भएर ढलमा पुगेका छन् ।

मेलम्चीको पानी आएपछि काठमाडौंका विभिन्न भागमा पाइप फुटेर चुहिंदा कति प्रतिशत पानी चुहावट भएको छ भन्ने यकिन विवरण केयूकेएलसँग छैन । पानी चुहिएका स्थानमा तत्काललाई स्थानीय स्तरबाट भल्भ बन्द गरेर केयूकेएलले मर्मतको तयारी थालिएको बताएको छ ।

सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले पनि चिन्ता व्यक्त गरेको छ । मेलम्चीको पाइपलाइन र बिजुलीको तार बिछ्याउँदा बिग्रिएको सडक बल्ल–तल्ल ठीक हालतमा ल्याएको भन्दै विभागले सकड नबिग्रने गरी काम हुनुपर्ने बताएको छ । ‘समस्या जटिल देखिए समाधान गर्न केयूकेएलसाग समन्वय गर्छौं,’ सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायण निहुरे भन्छन्, ‘सडकहरुलाई बिग्रन दिनुहुन्न ।’

केयूकेएलका अनुसार मुख्यगरी पुराना भित्री शहरहरूमा पाइपलाइनबाट पानी चुहिने समस्या बढी देखिएको छ । कतिपय क्षेत्रका ढल प्रणालीमा पनि समस्या देखिएको छ ।पहिल्यैदेखि ढल फुट्ने समस्या भएका क्षेत्रका पाइपलाइनहरुमा पनि समस्या देखिएका छन् । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको छ ।

केयूकेएलका उपकार्यकारी अधिकृत कार्की समसयाबारे जानकारी लिएर समाधान गर्न ३ वटा टोली बनाइएको बताउँछन् । टोलीले भोलि मंगलबारदेखि काम सुरु गर्ने र समस्या देखिएका क्षेत्रमा छिटो समाधान गर्ने उनले बताए ।कतिपय क्षेत्रमा लामो समयदेखि पानी नआएकाले हाउस कनेक्सनमा समस्या देखिएको छ । अहिले त्यस्ता क्षेत्रमा समस्या पहिचान गरेर समाधान गर्नुपर्ने केयूकेएलको भनाइ छ ।

मेलम्चीबाहेक अन्य विकासे निकायले पनि सडकमा विभिन्न काम गर्दा पाइपलाइन र ढल प्रणालीमा क्षति पुर्‍याएकाले ‘लिकेज’ को समस्या बढी देखिएको छ ।सडकमै समस्या देखिएको ठाउँमा केयूकेएलले सडक विभागको अनुमति लिएर मात्रै खन्न सक्छ । त्यसैले मर्मतको काम रातारात हुन गर्न गाह्रो केयूकेएलले जनाएको छ ।

काठमाडौंमा साँघुरा प्रणाली रहेका र जोड्ती कमजोर भएका स्थानमा ढल फुट्ने समस्या देखिनु सामान्य भएको छ । केयूकेएल अन्तरगतको परियोजना विकास निर्देशनालयले काठमाडौंमा करिब १२ हजार किलोमिटरको नयाँ वितरणलाइन बिछ्याएको छ । त्यसमध्ये करिब ६ हजार किलोमिटर लाइनको परीक्षण सकिएको छ । परीक्षण नसकिएका लाइनको पनि परीक्षण गर्न सुरु गरिएकाले पाइप फुट्ने समस्या देखिने गरेको उपकार्यकारी अधिकृत कार्कीले बताए । बाँकी पाइपलाइन परीक्षण गरेपछि क्रमशः पानी वितरण गर्ने योजना छ ।

नयाँ वितरणलाइनमार्फत वितरण गर्दा ठाउँ–ठाउँमा लिकेजको समस्या देखिन सक्ने परियोजना कार्यान्वयन निर्देशनालयका अधिकारीहरु बताउँछन् । नयाँ पाइपलाइन परीक्षणको क्रममा विभिन्न ठाउँमा पानी चुहिन सक्ने भन्दै उनीहरुले समस्या समाधान गर्दै नयाँ लाइनबाट पानी वितरण गरिने बताएका छन् । यसमा केयूकेएल बढी जिम्मेवार हुनुपर्ने निर्देशनालयका एक अधिकारी बताउँछन् । ‘परीक्षण भइरहेका क्षेत्रमा देखिएका समस्यालाई हामी हेर्छौं,’ उनले भने, ‘परीक्षण सकिएका क्षेत्रमा केयूकेएलले हेर्नुपर्ने हो, तर जानकारी गराउँदा पनि समाधान गर्न ढिलाइ भइरहेको छ ।’