१२१ बिघामा बनेको कृत्रिम तालको निर्माण नसकिँदै पर्यटकको लर्को, भारतबाट समेत पर्यटक आउन थाले

१२१ बिघामा बनेको कृत्रिम तालको निर्माण नसकिँदै पर्यटकको लर्को, भारतबाट समेत पर्यटक आउन थाले

सर्लाहीको बागमती नदीछेउमै बनेको कृत्रिम पोखरीले पछिल्लो सयम निकै नै चर्चा बटुलिरहेको छ । सामाजिक सञ्जालदेखि सर्वसाधारणमाझ यसको चर्चाले पोखरीमा उठेको छालले जस्तै तरंग पैदा गरेको छ । चर्चासँगै पोखरीलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भिड लाग्न थालेको छ । हावाको वेगसँगै छल्किरहने पोखरीको पानी, नजिकै देखिने चुरे शृंखलाको दृश्य, पोखरीको एकातिरबाट बगिरहेको बागमतीको आवाजले सबैलाई मोहित पारिरहेको छ ।

१२१ बिघा क्षेत्रफलमा फैलिएको यो पोखरी पुग्न पूर्व–पश्चिम लोकमार्गबाट दुईवटा बाटा छन् । पूर्वबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट क्षेत्रीय बाटो प्रयोग गर्न सकिन्छ भने पश्चिमबाट आउँदा बागमती पुल काट्नेबित्तिकै बागमती किनारैकिनार तीन किलोमिटर दक्षिण गएपछि पुगिन्छ ।

पोखरी दुई भागमा छुट्टिने गरी बीचमा होटेल बनिरहेको छ । झट्ट हेर्दा काठमाडौंको रानीपोखरीको झल्को दिने पर्यटकहरूको भनाइ छ । पोखरीमा सञ्चालन भएका मोटरबोट र मिनी क्रुजले भ्रमणलाई झनै आनन्दित बनाएको पोखरी हेर्न आएका राजन खड्काले बताए ।

तालको चारैतिर फलामे रेलिङ लगाइएको छ भने भर्खरै लगाइएका बोटबिरुवाले पोखरी थप सुन्दर बनेको छ । अहिले नै यो पोखरी हेर्न छिमेकी मुुलुक भारतबाट समेत पर्यटक आउन थालेका छन् । शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ थप घुइँचो हुने गरेको छ ।

नवविवाहिता जोडी, पारिवारिक जमघट गर्नेहरूसमेत आउन थालेको पोखरीमा मोटरबोट सञ्चालन गर्ने बागमती इन्टरटेनमेन्ट प्रालिका सञ्चालक गौतम खड्काले बताए । यहाँ रहेका राइनोज, फिस्टेल जेटबोट, मोटर बोट, मिनी क्रुज शयर प्रमुख आकर्षण बन्ने गरेका छन् ।

मेयरले पोखरी दिए, जनताले नाम राखिदिए

अ‍ैपचारिक नामकरण नभए पनि भरत तालको नामले पोखरी चर्चित बनेको छ । नगरले पोखरीलाई बागमती माछा पोखरी बनाउने योजना तयार पारेको थियो । तर, स्थानीयले भरत ताल नामकरण गरिदिए । पोखरीआसपासका होटेल, व्यवसायदेखि सवारीसाधनमा समेत भरत ताल लेखिएका छन् ।

पोखरी एक, विशेषता अनेक

पोखरीका परिकल्पनाकार एवं बागमती नगरका मेयर भरतकुमार थापाले नगरको समग्र विकासको प्रयासस्वरूप पोखरी तयार भएको जानकारी दिए । देख्दा एउटा पोखरी मात्रै भए पनि यसको महत्व र विशेषता अनेक रहेको उनको भनाइ छ । पोखरी बनेसँगै आसपासमा सिँचाइ सुविधा पुगेकाले पर्यावरण संरक्षणमा ठूलो भूमिका खेल्ने उनले बताए । यस्तै, स्थानीयस्तरमा हुने रोजगारी, व्यवसाय विस्तारले पनि यो भेगका सर्वसाधारणको जनजीवन उकास्छ । स्थानीय, संघीय र प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको पोखरीमा हालसम्म ६५ करोड लागत भइसकेको नगरपालिकाको छ ।

पोखरीआसपासमा ३० वटा पिकनिक स्पट, पचासको हाराहारीमा चौतारा एवं प्रतीक्षालय निर्माण हुनेछन् । पोखरीको दक्षिणतर्फ फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्डबाट प्रस्ताव आएको नगर कार्यालयले जनाएको छ । पोखरीका कारण पाँच किलोमिटरकोे दूरीमा रहेको रौतहटको नुनथर क्षेत्र र सर्लाहीको बागमती–११ मा पर्ने हरिहर क्षेत्रमा घुम्ने पर्यटकसमेत बढ्दै गएका छन् । नयाँपत्रिकादैनिकबाट