रिलमा फिल्म खिचेर हलमा देखाइने समयमा नेपाली फिल्मका लागि प्रदर्शनको ५१ र सय दिन अति सामान्य मानिन्थ्यो । वर्षमा धेरै फिल्मले सफलताको यो मानक पार गर्थे । तर, डिजिटल युगको प्रवेशसँगै नेपाली फिल्मको आयु पनि छोटिँदै गयो । अचेल नेपाली फिल्मलाई हलमा एक हप्ता टिकिराख्न पनि धौ-धौ पर्छ । प्रदर्शनको ५१ र सय दिन त मरुभूमिमा विरुवा पलाउनु जस्तै भएको छ ।
तर, वर्षमा केही यस्ता फिल्म जन्मन्छन्, जसले सय दिनको यात्रा पार गर्न नसके पनि ५१औं दिन भने मनाउने गरेका छन् । यस वर्ष फिल्म ‘कबड्डी ४’ले सफलताको ५१ दिन मनायो । सफलताको यो मानक पार गर्ने यस वर्षको दोस्रो फिल्म ‘महापुरुष’ बनेको छ । भाइटीकाको भोलीपल्ट (कात्तिक ११ गते) बाट प्रदर्शन भएको यो फिल्मले आज शनिबार प्रदर्शनको ५१ दिन मनाउँदैछन् ।
प्रदर्शनको तीन हप्ता आक्रामक व्यापार गरेको फिल्मले मल्टीप्लेक्सहरु क्यूएफएक्स चेन, एफक्यूब, वान सिनेमाज्, बिग मुभिज, आइएनआई सिनेमाज्, पोखरा सिनेप्लेक्ससहित काठमाडौं र मोफसलका केही सिंगल थिएटरमा प्रदर्शनको ५१ दिन मनाएको हो । यो अवधिमा फिल्मले करिब ११ करोड कलेक्सन गरेको जानकारीमा छ । योसँगै ‘महापुरुष’ वर्षको ब्लकबस्टर फिल्म बनेको छ ।
फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । ५१औं दिन मनाउने उनको यो चौंथो फिल्म हो । यसअघि उनी निर्देशित ‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ले पनि प्रदर्शनको ५१औं दिन मनाएका थिए । बलियो ‘वर्ड अफ माउथ’का कारण ‘महापुरुष’ले बक्स अफिसमा लामो यात्रा गर्न सफल भएको हो । एकल पिताले आफ्नो सन्तानका लागि गर्ने त्याग र समर्पणमा फिल्म आधारित छ ।
रविन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्रीले निर्माण गरेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेश पौड्याल, नरेन्द्र कंसाकार लगायतको अभिनय छ । फिल्मले अमेरिका, अष्ट्रेलिया लगायतका विदेशी भूमिमा पनि आक्रामक कमाई गरेको छ ।




