अनावस्यक अभिव्यक्तिका कारण विवादै विवादले घेरिए हर्क साम्पाङ

अनावस्यक अभिव्यक्तिका कारण विवादै विवादले घेरिए हर्क साम्पाङ

सुनसरी — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र २० जना वडाध्यक्षसहित २८ जना कार्यपालिका सदस्यबीचको विवाद चरम उत्कर्षमा पुगेको छ ।प्रमुख साम्पाङले स्वेच्छाचारी नीति अपनाएर ‘तोकादेशको आधारमा नगर चलाउँछु’ भनेपछि वडाध्यक्षहरूले गत बिहीबार राजीनामा माग गरे । वडाध्यक्षहरूले राजीनामा मागेको भोलिपल्ट प्रमुख साम्पाङले पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरु नसच्चिने हो भने राजीनामा गरेर मार्ग प्रसस्त गर्नुपर्ने भन्दै दबाब दिए । वडाध्यक्षहरूले प्रमुख साम्पाङले स्वेच्छाचारी भएर गैरकानुनी र गैरजिम्मेवार अभिव्यक्ति दिँदै बसेको भन्दै कडा आलोचना गर्दै आएका छन् भने प्रमुख साम्पाङले पनि वडाध्यक्षहरू स्वेच्छाचारी, गैरजिम्मेवार भएको आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।

वडाध्यक्षहरू र प्रमुख साम्पाङबीचको विवाद दुई महिना अघिदेखि चर्किएको हो । गत असोज १३ बसेको कार्यपालिका बैठकमा प्रमुख साम्पाङले धरान १७ को सप्तरंगी पार्कलाई बहुसांस्कृतिक संग्रहालय बनाउने प्रस्ताव राखेका थिए । तर कार्यपालिका सदस्य अनुप देवानले सप्तरंगी पार्कको पहिलैदेखि डीपीआर तयार भइसकेको र त्यसको नाम परिवर्तन नगरी सप्तरंगी पार्क नै राखेर पूर्वकार्ययोजना अनुसार बजेट विनियोजन गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने, बहुसांस्कृतिक जातीय संग्रहालय धरान–१४ मै निर्माण भइरहेको आग्रह गरेपछि प्रमुख साम्पाङले ‘तपाईँको बोल्ने पालो सकियो, अब बस्नुस्’ भनेका थिए । तर आफ्नो कुरो नसकिएकाले नबस्ने र बोल्न दिनुपर्ने अडान लिएका देवानलाई तत्कालै साम्पाङले ‘नबस्ने हो भने निस्केर जानुस्’ भनेपछि विवाद सुरु भएको थियो ।

देवानको समर्थन गर्दै २० जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङले जनप्रतिनिधिहरूमाथि निरंकुशता, स्वेच्छाचारिता र अराजकता लाद्न खोजेको आरोप लगाउँदै माफी माग्न आग्रह गरेका थिए । तर साम्पाङले आफूले कुनै गल्ती नगरेकाले माफी नमाग्ने अडान लिएपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले बैठक नै बहिस्कार गरे । विवादका कारण कार्यपालिका बैठक बस्न नसकेपछि यसबीच दुई पटक कार्यपालिका बैठक बोलाइएको भए पनि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले प्रमुख साम्पाङ सच्चिएर माफी नमागेसम्म बैठक बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए । पछिल्लो समयमा गत मंसिर २९ मा कार्यपालिका बैठक बसे पनि दुवै पक्षले पुरानै अडान लिएपछि प्रमुख साम्पाङ र वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूबीचको विवाद मत्थर हुनुको सट्टा झनझन बढ्दै गएको छ ।

स्थानीय तहको चुनाव जितेर धरान उपमहानगरपाकिाको प्रमुखको कुर्सीमा बस्दै गर्दा साम्पाङले भनेका थिए, ‘स्वतन्त्र उम्मेदवारको रुपमा जिते पनि म अब जनताको अभिभावक बनेर धरानको समग्र विकास निर्माणमा ध्यान दिन्छु । त्यसका लागि सबै राजनीतिक दल र ती दलबाट जनप्रतिनिधि भएर आएका सबैसँग मिलेर काम गर्नेछु ।’

विवादका बीच यो उनको ‘मधुर वाणि’ खोक्रो सावित हुन थालेको छ । वडाध्यक्ष र कार्यपालिका सदस्य एकातिर छन् भने प्रमुख साम्पाङ अर्कोतिर रहेकाले ‘सबैलाई मिलाएर लैजाने’ भन्ने नीतिलाई साम्पाङले अख्तियार गर्न चुकेका छन् । धरान–१५ का वडाध्यक्ष नरेश इङ्वारमले भने, ‘जनप्रतिनिधिहरूलाई उनले धरान लुट्न र बिगार्न आएकोसम्म भनेका छन् । बैठकबाट निस्केर जा भनेकाले माफी माग्नुपर्छ भनेर हामीले अडान लिएका छौं ।

उनले हातै जोडेर माफी माग्नु पर्दैैन तर कम्तीमा बोल्दा शब्दमा तलमाथि पर्‍यो सदस्य ज्यूहरू, अन्यथा नलिनुहोला, हामी सबै अब एक भएर धरानको विकासका लागि अगाडि बढौं भन्न पनि गाह्रो मानेका छन् । मेयर साबको यस्तो रवैयाले त कसरी धरानको विकास गर्ने चिन्ता लाग्न थालेको छ । अझै ४ वर्ष बिताउनु परेको छ मेयर साबसँग ।’

वडाध्यक्षहरूलले प्रमुख साम्पाङले दिएको उक्त अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राख्दा साम्पाङले अस्वीकार गर्दै ‘तोकआदेशको आधारमा नगर चलाउँछु’ भनेपछि आगोमा घिउ थपिएको छ । वडाध्यक्षहरूले प्रमुख साम्पाङले आफ्नो कार्यशैली परिवर्तन गरेर ‘म’ को ठाउँमा ‘हामी’ भन्ने भावना अनुरुप धरानको विकास गर्न एकताबद्ध रुपमा अघि बढ्ने वातावरण सिर्जना गर्न पनि माग गरेका छन् ।

वडा नं १७ का अध्यक्ष एवं नगर कार्यपालिका प्रवक्ता सूर्य भट्टराई (मनोज) प्रमुख साम्पाङले अराजक र स्वेच्छारी प्रवृत्ति देखाउँदै गैरसंवैधानिक र गैरकानुनी रुपमा तोकआदेशकै आधारमा काम गरिरहेको र त्यसको जवाफदेही नगर कार्यपालिका नहुने बताए । उनले भने, ‘मेयर साम्पाङले विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक लगाएका छन् । बिना निर्णय राष्ट्रिय वन क्षेत्रमा पर्ने ठाउँमा आफूखुसी माया धराने लुगा धुने साबुन उद्योगको निर्माण कार्य सुरु गरेका छन् । धरान–१३ र २० को बीचमा पर्ने बीपी पार्कको नाम परिवर्तन गरि बिना निर्णय आफ्नो फोटो राखेर ‘श्रम सँस्कृति पार्क’ नामकरण गरेका छन् । सामाजिक सञ्जालमा पदीय मर्यादा विपरीत जथाभावी तुच्छ शब्दहरू प्रयोग गरेर गालीगलौज गर्दै आएका छन् ।’

विवादै विवादमा घेरिएका साम्पाङ पछिल्लो समयमा जातीय सद्भाव खलबलिने गरी सामाजिक संजालमा ‘चमारे बुद्धि’ जस्ता शब्द प्रयोग गरी दलित समुदायको आत्मासम्मानमा चोट पुर्‍याएको, सेवाग्राहीलाई कार्यकक्षमा हप्कीदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरूलाई अपमानित गर्ने गरेकाले उनको लोकप्रियताको ग्राफ स्वाट्टै तल झर्न थालेको छ । राजनीतिक दलबाट निवार्चित वडाअध्यक्ष, स्वतन्त्रबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुसँग बढेको दूरीलाई घटाउने प्रयास गर्न नसकेको वडाध्यक्षहरूले बताए ।

वडाध्यक्षहरूले लगाएको आरोपको खण्डन गर्न उनलले संचारकर्मीलाई सामाजिक संजालमार्फत् नै बोलाएका थिए । मूलधारका व्यवसायिक संचारकर्मीलाई ‘पार्टीको झोले पत्रकार’ भन्न रुचाउने साम्पाङले वडाध्यक्ष र कार्यपालिका सदस्यहरुविरुद्ध आफ्नो विस्तृत भनाइ राख्न भने तिनै पत्रकारहरुलाई बोलाएका थिए ।

प्रमुख साम्पाङले संचारकर्मीसँग भने, ‘जनताको म्याण्डेट विपरीत र कानुन, अनुशासन उल्लंघन गर्दै बैठक निरन्तर बहिष्कार गर्ने सबै कार्यपालिका सदस्यहरुलाई सच्चिन आग्रह गर्छु । नससच्चिए राजीनामा दिए हुन्छ ।’ उनले कार्यपालिका सदस्यहरुले बैठकमा भाग नलिएर कर्तव्य पूरा नगरेको, अनुशासनहिनता र लापरबाही गरेको आरोप लगाए । उनले निरन्तर बैठक बहिष्कार गरेर धराने जनताको आदेश अनुरुप वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले आचरण बिगारेको, विधिको शासन पनि नमानेको आरोप लगाए ।