नेपालमा वान एक्स बेटमा करोडौंको सट्टेबाजी, प्रहरी समात्यो दुई नेपाली एजेन्ट

नेपालमा वान एक्स बेटमा करोडौंको सट्टेबाजी, प्रहरी समात्यो दुई नेपाली एजेन्ट

३ पुस, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा वान एक्स बेट नामक एप्लिकेशनमार्फत नेपालबाट करोडौंको सट्टेबाजी भएको पाइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानका क्रममा भक्तपुरका सुनिल चौगुठी र अजय भेलेले मात्रै कम्तीमा ३ करोड रुपैयाँको कारोबार गरेको देखिएको हो ।

कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार चौगुठीको २५ वटा बैंक खाता भएकामा हालसम्म प्राप्त ८ वटा खाताको विवरणमा मात्रै २ करोड ४५ लाख ७१ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ ।

भेलेको विभिन्न १९ वटा खाताको विवरण मागिएकामा ५ वटा बैंकको विवरण प्रहरीले पाएको छ । त्यसमा ६ महिनामा ६० लाख २९ हजार ९१५ रुपैयाँको कारोबार भएको देखिएको छ । ‘अन्य बैंक खाताहरुको विवरण पनि प्राप्त हुने प्रक्रियामा रहेको छ’, एसपी कोइराला भन्छन् ।यसअघि कार्यालयले पक्राउ गरेका ललितपुरका २१ वर्षीय आदर्श ठाकुरले पनि वान एक्स बेटमार्फत २ करोड रुपैयाँ बढी कारोबार गरेको देखिएको थियो ।

Europass CV in Nepal

सट्टेबाजीको क्रिप्टो कनेक्सन

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार युरोपियन मुलुक साइप्रसबाट चलेको वान एक्स बेटले विभिन्न एजेन्टमार्फत नेपाली रुपैयाँ संकलन गर्ने गरेको छ ।उनीहरुको सहयोगमा खल्ती, ई–सेवा, कनेक्ट आईपीएस, प्रभुपे लगायतका एप्लिकेशन प्रयोग गरेर कारोबार गरेको देखिएको अधिकृतहरुको भनाइ छ ।

‘त्यसमा पैसा डिपोजिट गर्दा एपमा देखाइएको एजेन्टहरुको फोन नम्बर वा बैंक खातामा जम्मा हुने गरेको देखिएको छ’, ती अधिकृत भन्छन्, ‘त्यसरी सट्टेबाजीमा संलग्नले जम्मा गरेको रकम सम्बन्धित एजेन्टले रेडी नामक एप्लिकेशनमार्फत वान एक्स वेटको खातामा लोड गर्ने गरेको देखिएको छ ।’

प्रहरीका अनुसार वान एक्स बेटमा एजेन्टका रुपमा काम गर्नेले खातामा कम्तीमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म धरौटी राखेको पनि खुलेको प्रहरी बताउँछ ।एजेन्टहरुले त्यसरी संकलन गरेको रकम भर्चुअल मुद्रा क्रिप्टोमार्फत कम्पनी एजेन्टलाई बताउने गरेको पाइएको छ । ती एजेन्टहरुले सट्टेबाजीमा राखिएको रकममध्ये ७ प्रतिशत र निकालिएको रकममध्ये दुई प्रतिशत फिर्ता दिएको खुलेको छ । सट्टेबाजी गर्नेले जितेको रकम पनि उनीहरुले एजेन्टकै सहयोगमा उही प्रक्रिया अनुसार फिर्ता पाउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।