चार्ल्स शाेभराजलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

चार्ल्स शाेभराजलाई थुनामुक्त गर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाै । हत्यासहितका विभिन्न अपराधको सजाय काटिरहेका फ्रान्सका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज बुधवार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आज (बुधवार) नै कैदबाट मुक्त गर्न आदेश दिएको हो । उनलाई १५ दिनभित्र आफ्नो देश फर्काउनसमेत आदेश दिइएको छ ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । इजलासले आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत आदेश दिएको छ । आदालतको आदेशमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा दिएर छोड्न भनिएको छ ।

शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभागलगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । यस व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजको जिकिर थियो । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।

१९ वर्ष कैद सजाय भोगिसकेको ७८ वर्ष उमेरको वृद्ध व्यक्तिलाई कानुन प्रदत्त सुविधा तत्काल प्रदान नगरिएको र उनको संविधानप्रदत्त बाँच्न पाउने हक र एकान्त कारावासविरुद्धको हकमा समेत असर पर्न गएको सर्वोच्चले बताएको छ । शोभराज सन् २००३ देखि हत्याकाे आराेपमा नेपालकाे जेलमा कैद रहेका थिए । सन् १९७२ देखि १९८२ काे बीचमा शाेभराजमाथि २० भन्दा धेरै हत्याकाे आराेप लागेकाे थियाे ।