काठमाडौँ। आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् ।
२००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।
चाडपर्वले भाइचारा अभिवृद्धिमा मद्दत पुग्छ : प्रधानमन्त्री देउवा
चाडपर्वले भाइचारा अभिवृद्धिमा मद्दत पुग्छ : प्रधानमन्त्री देउवाप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वले आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
इसाई धर्मावलम्बीहरूको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभकामना दिंदै उनले चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउनु पर्ने बताए ।
प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने प्रचलन रहेको बताएका छन् ।
उनले यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समृद्ध नेपाल निर्माणका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ क्रिसमस पर्वको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना दिंदै सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ ।
राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।