कारागार भित्रैबाट नयाँ दल दर्ता गर्दै रेशम चौधरी, कानुनी अड्चन आए श्रीमतीलाई अध्यक्ष बनाउने

कारागार भित्रैबाट नयाँ दल दर्ता गर्दै रेशम चौधरी, कानुनी अड्चन आए श्रीमतीलाई अध्यक्ष बनाउने

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् । थरूहट क्षेत्रलाई आधारभूमि बनाएर चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् ।

चौधरीका निकटस्थ स्रोतका अनुसार उनले मधेसी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेका हुन् । रातोपाटीलाई प्राप्त कागजात अनुसार चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेका हुन् । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्न लागिएको छ ।

त्यसैगरी पार्टीको आधारभूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख छ । यद्यपि यो पार्टी राष्ट्रिय सोचका साथ राष्ट्रिय पार्टीका रुपमा खोलिन लागेको दस्तावेजमा उल्लेख छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ र २७ जनाको पदाधिकारी समाज रहने उल्लेख छ । पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र सातजना सह कोषाध्यक्ष रहने उल्लेख गरिएको छ ।

Europass CV in Nepal

त्यस्तै पार्टीको विधानमा व्यवस्था गर्नेगरी केन्द्रीय सदस्य पदमा मुक्त कम्लरीबाट एक, हलिया, हरुवा–चरुवाबाट एक, वादी महिलाबाट एक, पिछडावर्गबाट ३ र सिमान्तकृत समुदायबाट ९ जना केन्द्रीय सदस्य अनिवार्य गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यसैगरी दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ ।

त्यस्तै चेपाङ, राउटे, कुसुन्डा, सत्याल, माझी आदिका लागि निर्वाचन नै नहुने गरी अनिवार्य संरक्षित सिटको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी मन्त्रालयमा मन्त्री बनाउने वा बन्ने व्यक्ति सम्बन्धित विषयमा विज्ञता हासिल गरेका व्यक्तिहरु नै हुनुपर्ने उल्लेख छ ।

कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, अर्थजस्ता मन्त्रालयमा विज्ञता हासिल गरेका सचिव र मन्त्रीहरु नियुक्त हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । दल दर्ताका क्रममा सातवटै प्रदेशबाट जनजाति, दलित, मुस्लिम, महिला आदि सबैलाई समेटेर संविधान अनुसारकै व्यवस्था गर्ने पनि उल्लेख छ ।

मधेसवादी दल स्वार्थमै केन्द्रीत
तत्कालीन राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट सांसद पदमा विजयी भएका रेशमलाल चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएका थिए । कैलालीबाट राजपाले समानुपातिक तर्फ ५८ हजारभन्दा बढी मत प्राप्त गरेको थियो । चौधरीकै दावीलाई मान्ने हो भने थारु समुदाय र रेशमलाल चौधरी तर्फका उम्मेदवारबाट राजपालाई एक लाख ५० हजारभन्दा बढी मत समानुपातिकतर्फ प्राप्त भएको थियो ।
तर थारु समुदाय र चौधरी पक्षधरबाट पाएको मतकै आधारमा राष्ट्रिय पार्टी बनेको राजपाले थारु समुदाय र चौधरीको पक्षमा केही नगरेको भन्दै चौधरीले नयाँ पार्टी दर्ता गर्न लागेको उनी निकट स्रोतले बताएको छ ।

मधेसवादी दलले थारु समुदायलाई भोट बैंकका रुपमा मात्रै लिएको र चौधरीलाई देखाएर सत्ताको बार्गेनिङ मात्रै गरेको चौधरीले आरोप लगाउने गरेका छन् । चौधरी स्रोतले रातोपाटीलाई भन्यो, ‘हामीले मधेसवादी दललाई भनेको कुरा के हो भने सडक, सदन र सरकारसँग रेशम चौधरीको मुद्दालाई उठाइदिनुप¥यो भन्ने थियो । तर उहाँकै दल र अन्य मधेशवादी दलले चौधरीलाई नै देखाएर सत्ताको बार्गेनिङ गर्ने काम मात्रै गरिरहे । उनीहरुले २ नम्बर प्रदेशलाई मात्रै आफ्नो थलो देखे । त्यसपछि हामी बाध्य भएर नयाँ दल दर्ता गर्नुपर्ने अवस्थामा आइपुग्यौँ ।’

आफू अध्यक्ष हुन नपाए श्रीमती बन्ने
कर्तव्य ज्यान मुद्दामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी यतिबेला कारागार कार्यालय डिल्लीबजारमा बन्दी जीवन बिताइरहेका छन् । यद्यपि उनको मुद्दा यतिबेला सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेको छ र अन्तिम अदालतबाट फैसला भइनसकेको अवस्थामा उनकै अध्यक्षतामा दल दर्ता गर्न पाउने कि नपाउने भन्ने अन्योल नै छ ।

यदि दल दर्तासम्बन्धी ऐनले आफूलाई अध्यक्ष बन्नबाट रोक लगाएमा आफ्नी श्रीमतीलाई दलको अध्यक्ष बनाउने गरी तयारी भइरहेको उनीनिकट स्रोतले बताएको छ । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अब राजनीतिमा आउने क्रममा रहेको स्रोतले बताएको छ । चौधरीले अत्यधिक बहुमतका साथ चुनाव जितेको कारण चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले पनि थारु समुदाय र टीकापुर क्षेत्रबाट निर्वाचनमा गएमा जित्ने दावी गरिएको छ । त्यसैकारण पनि चौधरी अध्यक्ष हुन नपाए श्रीमती रञ्जितालाई अध्यक्ष बनाउने र चुनावमा उठाउने तयारी भइरहेको छ ।

चौधरीनिकट स्रोतका अनुसार पुस १८ गते थारु, वादी, जनजाति आदि समुदायको भेषभूषा, बाजा र झाँकीसहित निर्वाचन आयोग गएर दल दर्ता गर्ने तयारी भइरहेको छ ।

 

Europass CV in Nepal