काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् ।
अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद् भवनमा बसिरहेकको सत्ता गठबन्धनको बैठकपछि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि सबै कुरा स्पष्ट हुने बताइएको छ । छोटो कुराकानी गर्दै सभापति लामिछानेले भने,’अहिले संसद् भवनमा बैठक बस्दै छ । म त्यहाँ जाँदैछु । बैठकपछि मात्रै सबै कुरा भन्नु उचित होला । ‘
उनले रास्वपाले कुन मन्त्रालयले पाउने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने जानकारी दिए । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।
हामी सरकारमा जादैनौँ राप्रपा अध्यक्ष लिङ्देन
माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी नहुने भएको हो ।सोमबार सर्वदलीय बैठकका लागि संसद् भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष लिङ्देनले सञ्चारकर्मीसँग भने, “हामी सरकारमा जान्दैनौँ। समर्थन मात्र गर्ने हो।”
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ गठबन्धन बनेको छ। गठबन्धनले १६९ सासंदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाएको छ। नवनियुक्त प्रधानमन्त्रीले आज शपथ लिने कार्यक्रम छ ।
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने
प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा भने नजाने भएको छ । उसले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।
पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अनलाइनखबरसँग भनिन्, ‘प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन छ । तर सरकारमा जाने कुरा तत्काल पार्टीले सोचेको छैन। सरकारमा जान्नौं ।’
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको बताइन् ।पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाएका थिए ।
एमाले-माओवादी केन्द्रसहितका नयाँ सत्ता गठबन्धनको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहँदा नागरिक उन्मुक्ति पार्टीका नेताहरु भने सहभागी भएनन् ।प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । स्वतन्त्र हैसियतमा जितेका रेशम चौधरीका बाबु लालबीर पनि नागरिक उन्मुक्ति पार्टीमै आवद्ध छन् ।