काठमाडौँ । एमाले र माओवादीबीच सत्ता गठबन्धन भएपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी विलखबन्दमा परेको छ । एमालेबाट विद्रोह गरेर बनेको यो पार्टीले माओवादीसहित कांग्रेससँग मिलेर अघि बढिरहेको थियो । सत्ता भागबन्डामा कुरा नमिल्दा माओवादी पुरानो गठबन्धन छोडेर एमालेसँग नयाँ समीकरण बनाउन पुग्यो ।
यो आफूसँगको सहयात्री वामपन्थ दल एमाले कित्तामा पुगेपछि नेकपा एस अब कसरी अघि बढ्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन । यसै सन्दर्भमा गत आइतबार कसरी सत्तागठबन्धन भत्कियो र माओवादी कसरी एमाले कित्तामा पुग्यो भन्नेबारे नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा विस्तृत रुपमा घटनाक्रमको व्याख्या गरेका छन् ।
केही केही मानिसको बानी के छ भने, भोलि के हुन्छ भनेर ठोकुवा गरिदिन्छन् । आगामी १५ वर्षसम्म पनि गठबन्धन रहन्छ भन्ने वाणी सुन्यौं । यस्ता कुराको पक्षमा म कहिले पनि थिइनँ ।
चुनावमा जाँदा हामीले यो गठबन्धन कायम राख्छौं भनेका थियौं । चुनावी परिणामले शक्ति सन्तुलनमा अलिकति परिवर्तन ल्यायो । पहिलो दल भएपछि कांग्रेसलाई के के भयो, के-के न पायौं भनेर खुट्टा भुईमा न भाँडामा रह्यो । त्यस्तो भएपछि कांग्रेसलाई छोइसक्नु भएन । कांग्रेसको रवैयाबाट पीडित हौं, पहिले पनि पीडित थियौं अहिले पनि पीडित हौं । माओवादीको रवैयाबाट पनि हामी पीडित हौं । हाम्रो विभिन्न ठाउँमा आ- आफ्नो अनुभव होला । कांग्रेसले पनि हामीलाई हेप्यो र माओवादीले पनि हामीलाई हेप्यो । हाम्रो शक्तिलाई अन्डरमाइन्ड गर्यो । बेवास्ता गर्यो ।
अर्कोतर्फ कांग्रेसले पनि सहयोग गर्यो र माओवादीले पनि सहयोग गर्यो । हिजो माओवादीले सहयोग नगरेको भए प्रकाश ज्वाला जित्न सक्नु हुन्नथ्यो, कांग्रेसले साथ नदिएको भए भानुभक्त जोशीले जित्न सक्नु हुन्नथ्यो ।
चुनाव सम्पन्न भएपछि को प्रधानमन्त्री हुने भन्ने कुरा आयो । सामान्य अवस्थामा भन्ने हो कांग्रेसले हाम्रै शक्तिबाट सरकार चलाएको हो नी ! हामीले नै सरकारमा जाने आधार बनाइदिएकाले पाएको हो । त्यो गुणलाई कांग्रेसले त्यति बुझेको पाइएन ।
मेरो र प्रचण्डबीच कुराकानी के भयो भने परिस्थिति जटिल छ, रवि लामिछानेले नयाँ र क्रान्तिकारी कुरा गरेर जितेर आएका छन् । जनताको एउटा पक्षले ठूलो आशा र अपेक्षा गरेको छ । भोलि जनताको असन्तुष्टि कतिखेर सडकमा पोखिने हो त्यो कुरा विद्यमान छ । संसारका विभिन्न देशमा आर्थिक संकट आएपछि मानिसहरु सडकमा उत्रेको हामीले देखिरहेका छौं । यो सबै अवस्थामा शेरबहादुर देउवाबाट हुनसक्दैन भनेर त्यसैले प्रचण्डजी तपाईंले अघि बढ्नुपर्छ भनेर मैले भनेको हो । तर प्रचण्डजीले शेरबहादुर देउवासँग एक्लै कुरा गरेर प्रधानमन्त्री बन्ने कुरा लिइहाल्नु भयो ।
हामीसँग भनेर गएको भए विश्वास जितिन्थ्यो । सुटुक्क जाने खुसुखुसु कुरा गर्ने कामले अविश्वास फैलाउँछ । त्यसपछि म दुईटा पार्टीका नेताले खुसुखुसु कुरा गरेर हुन्छ ? भनेर कड्किएको हो । प्रचण्डजीले होइन-होइन, तपाईंलाई भन्नेवाला थिएँ भन्नुभयो । पछि शेरबहादुरजीसँग कुरा बिग्रन लाग्यो तपाईंले कुरा गरिदिनुहोस् भन्नुभयो ।
शेरबहादुरजीसँग कुरा गर्दा उहाँले प्रचण्डजी भएपनि ठिकै छ केही फरक पर्दैन भनेर भन्नुभयो । तर कुरा फेरेको देखें । शेरबहादुरजीले बोलि फेर्नु भएको थियो उहाँलाई कसले उचालेको थियो । उहाँ प्रधानमन्त्री बन्न फेरि तत्पर देखिनुभयो । २ वर्ष कांग्रेस, २ वर्ष माओवादी र १ वर्ष हाम्रो पार्टी प्रधानमन्त्री बन्ने कुरा पनि आयो ।
राष्ट्रपति हामीले पाउने कुरा पनि आयो । सुरुमा पहल राष्ट्रपतिका लागि गरेका थियौं, पछिल्लो समयमा परिस्थितिमा परिवर्तन भयो । कहिले राष्ट्रपति हुन्छ भन्ने कहिले नहुने भन्ने भयो । पछि कांग्रेसबाट प्रधानमन्त्री र राष्ट्रपति पनि आफू लिने भन्ने आयो । त्यसले वातावरण फेरि बिग्रन थाल्यो । यो सबै अवस्था भित्र के भयो भने प्रचण्डजी अत्यन्तै विक्षिप्त हुनुभयो र भन्नुभयो,-अब यो गठबन्धन चल्नेवाला छैन । कांग्रेसको दादागिरी सहेर बसिँदैन र मैले पनि कांग्रेसको दादागिरी सहिँदैन भनेर भनिसकेको थिएँ ।
हामी पनि पीडित उहाँहरु पनि पीडित, हामी पनि केपी शर्मा ओली पीडित उहाँहरु पनि पीडित । पीडित पीडित एकै स्थानमा भएपनि विद्रोह गरिहाल्नुपर्छ भन्नेभयो । बालुवाटारमा बसेर एकछिन कसरी अघि जाने भन्ने विषयमा कुराकानी भयो । उहाँले के भन्नुभयो भने,’तपाईं, म र केपी ओली छुट्टै बसेर कुराकानी गरौं, कुरा गरेर नयाँ ढंगले अघि बढौं।’ मैले हुन्छ भनें । मिलेर फेरि केपी शर्मा ओलीसँग कुरा गरौं भनेको हो ।
उहाँले हुन्छ भन्नुभयो । त्यो भनेर म पार्टी अफिसमा आएँ, कुरा गर्नुपर्यो भनेर तुरुन्तै अपर्झट बैठक बोलाएँ । तुरुन्तै रवि लामिछानेलाई फोन गरे, राजेन्द्र लिङदेनलाई फोन गरे, उपेन्द्र यादवलाई फोन गरेर भनें- बसेर कुरा गरौं । यादवजीले म आउँछु भन्नुभयो । राजेन्द्रजीको फोन उठेन, रवि लामिछानेले म बालकोट लाग्दैछु कमरेड भन्नुभयो, बालकोटले तानिहालेछ भन्ने लाग्यो मलाई, ठिकै छ बस्नुस् भनेँ ।
प्रचण्डजी बालकोट लाग्नु भएछ भन्ने कुरा आयो । उहाँ खुमलाटारबाट बालकोट जानु भएछ । पछि हस्ताक्षर सबै पुगिसक्यो भन्ने कुरा आएछ, अशोक राई पुग्नुभएको पनि सूचना आयो, सीके राउत पुगिसकेको खबर आएछ, सबैसँग कुरा गर्दा उहाँहरु बालकोट पुगेको खबर आयो । ठ्याक्क चार बजे शेरबहादुरजीको फोन आयो । ‘माधवजी, तपाईंले प्रचण्डजीलाई तुरुन्त फोनगरेर पहिलो प्रधानमन्त्री तपाईं हो भनिदिनुपर्यो’ भन्नुभयो । समय बितिसकेपछि, घर्की सकेपछि, हस्ताक्षर गरिसकेपछि राष्ट्रपतिकहाँ हिँड्ने बेलामा तपाईंले भनेर के हुन्छ ? समयमा बुद्धि पुर्याउनुछैन’ भनेर मैले भने ।