१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए । त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए ।
‘पहिलो बैठक हो, खास एजेण्डा थिएन । सामान्य छलफल भए’, बैठकमा सहभागी एक अधिकारीले भने ।स्रोतका अनुसार छलफलमा सहभागी सुरक्षा अधिकारीहरुले संगठनमा तल्ला तलका कर्मचारीले सिधै गृहमन्त्री वा अरुलाई भेट्ने प्रवृत्ति रहेको बताउँदै त्यसले संगठन कमजोर हुने भनाइ राखेका थिए । जवाफमा उनले सुरक्षा निकायलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । बैठकले बाहिर उल्लेख गर्नुपर्ने किसिमको कुनै निर्णय नगरेको सह-सचिव पोखरेलले बताए ।
विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।मन्त्री भएपछि गृह मन्त्रालयमा मंगलबार बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्न सक्ने कोभिड–१९ संक्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिएका गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिए।
सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेकै अध्यक्षतामा उक्त बैठक बसेको थियो।बैठकमा गृहसचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिको सहभागिता थियो। सो क्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्रीसमक्ष सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए।