एमाले-माओवादी गठबन्धका सुत्राधार मानिएका वर्षमान पुन सोमबार विहानसम्म मन्त्रीको सपथ लिने तयारीमा थिए।
पुनलाई गृहमन्त्री बनाउन बालकोटमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको थियो।
पुनप्रति ओली उदार देखिएका थिए। एमाले र माओवादीबीच सहकार्य गर्न पुनले विषेश भूमिका निर्वाह गरेका थिए। त्यसैले गृहमन्त्री वर्षमान पुनलाई बनाउन ओली सकारात्मक थिए।
बालकोटमा पुनलाई गृहमन्त्री बनाउने सहमति भएपछि सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई गृहमन्त्रालय नदिए सरकारलाई समर्थन नगर्ने चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिए।
स्रोतका अनुसार लामिछानेले सोमबार विहानै प्रधानमन्त्री प्रचण्डलाई फोन गरेर आफूलाई गृहमन्त्रालय नदिए सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन पनि गर्न नसकिने अडान राखेपछि प्रचण्ड लामिछानेलाई गृहमन्त्रालय दिन तयार भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले अडान राखेकै कारण वर्षमान पुन गृहमन्त्री बन्नबाट वञ्चित भएका हुन्।
तल्लो वरियतामा मन्त्री नबन्ने बर्षमान र शक्तिको अडान
पाँच दलिय सत्ता गठबन्धनमा कुरा नमिलेपछि नाटकीय रुपमा परिवर्तन भएको नेपालको राजनीतिमा सात दल र तीन स्वतन्त्र सासंदको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेलगत्तै तीनवटा दलबाट उपप्रधानसहित मन्त्री र अन्य चार गरी आठ जनाको मन्त्रीमण्डल बनाएपछि माओवादी केन्द्रभित्रै असन्तुष्टि देखिन थालेको छ ।
माओवादीबाट नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् । माओवादीले अब ४ देखि ५ सम्म मन्त्री पाउने बुझिएको छ ।
माओवादीबाट को-को मन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । तर पार्टीको माथिल्लो तहमा रहेका नेताहरू रबि लामिछानेभन्दा तल्लो वरियतामा मन्त्री नहुने भएपछि पार्टीभित्रै असन्तुष्टि देखिन थालेको छ ।
अहिले खासै सतहमा असन्तुष्टि नदेखिएतापनि प्रचण्डको रोजाईमा परेका नेता पुन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भन्दा तल्लो वरियतामा बसेर मन्त्री नहुने आफू निकटस्थहरूसँग बताउन थालेका छन् । त्यस्तै, माओवादीका अर्का नेता शक्तिबहादुर बस्नेत पनि रविको भन्दा तल्लो वरियतामा मन्त्री नहुने तयारीमा छन् ।
माओवादीका एक नेताका अनुसार नेता पुन र बस्नेत मन्त्री बन्ने पहिलो दाबेदार भए पनि रबि उपप्रधान तथा गृहमन्त्री भइसकेकाले लामिछानेको भन्दा तल्लो वरियतामा बसेर मन्त्री बन्ने इच्छा नदेखाएको नेताहरू बताउँछन् । नेताहरूमा असन्तुष्टि बढ्दै गएको खण्डमा नयाँ अनुहारले मन्त्री बन्ने अवसर पाउने ती नेताले बताए ।