एमसीसीविरुद्ध हस्ताक्षर नगर्नेहरुलाई प्रश्न सोधियो, ‘के तपाईं कांग्रेस हो’?

एमसीसीविरुद्ध हस्ताक्षर नगर्नेहरुलाई प्रश्न सोधियो, ‘के तपाईं कांग्रेस हो’?

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी खारेजीको माग गर्दै अभियन्ता तारा बरालका समर्थकहरुले वसन्तपुर दरबार क्षेत्रमा हस्ताक्षर संकलन गरिरहेका छन् । वसन्तपुर दरबार क्षेत्र घुम्न आएका आन्तरिक पर्यटक तथा सो क्षेत्रबाट आवतजावत गरिरहेका मानिसहरूलाई एमसीसी खारेजीको लागि हस्ताक्षर गर्न उनीहरू आग्रह गरिरहेका भेटिन्छन् ।

कतिपयले सहजै उनीहरूले आग्रह स्विकार्दै हस्ताक्षर गरेर हिँड्छन् । भने कतिपय किन हस्ताक्षर गर्ने रु भन्दै बेवास्ता गरेर हिँड्ने गरेका छन् । यदि कसैले हस्ताक्षर गर्न अस्वीकार गर्‍यो कि अभियन्ताहरू प्रश्न गर्छन् – ‘तपाईँ कांग्रेस हो ?’ । सोमबारदेखि सुरु भएको उक्त अभियानमा हालसम्म झण्डै ३ हजार जनाको हस्ताक्षर संकलन भएको अभियन्ता मनिष मानवले बताए ।

एक लाख जनाको हस्ताक्षर संकलन गरी एमसीसी खारेज गर्न दबाब दिन उक्त हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइने पनि उनले जानकारी दिए ।

Europass CV in Nepal

अभियन्ताहरूले तारा बरालको जीवन रक्षाको माग समेत गरेका छन् । एमसीसी खारेज गर्न माग गर्दै गत कार्तिक ३० गतेदेखि आमरण अनशनमा बसेकी बराल हाल वीर अस्पतालको आइसियूमा अनशनरत छन् ।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताइएको छ । यसअघि गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डले बराललाई भेटेर प्रधानमन्त्रीलाई माग सम्बोधनका लाग आग्रह गर्ने आश्वासन दिए पनि अरू कसैले चासो नदिएको अभियन्ता मनिष मानवले बताउँछन् ।

अभियन्ताको समूहले नागरिकता विधेयक खारेज, भारतसँग व्यापारिक नाकामा भन्सारको व्यवस्था मिलाउन पनि माग गरेका छन् । यस्तै सर्वोच्च अदालतलाई राजनीतिक थलो नबनाई शीघ्र सुचारु गर्न पनि उनीहरूको माग छ ।

नेपालमा पछिल्लो पटक एमसीसीको बहस चर्को रूपमा उठिरहेको छ । संसद्को हिउँदे अधिवेशन सुरु भएपछि यो विषय झन् तातिएको छ । कतिपय साना दलहरू एमसीसी खारेजीको माग गर्दै दैनिक माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । भने ठूला दलहरूभित्र अन्यौलता देखिएको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्ने भन्दै पहल गरिरहेको छ । प्रमुख प्रतिपक्षी दल एमाले द्वैध चरित्र देखाइरहेको छ । एमाले सरकारको नेतृत्वमा रहँदा एमसीसीका पक्षमा देखिए पनि हाल यो विषयमा मौन बसेको देखिन्छ ।

यस्तै एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्रै किचलो सुरु भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा एमसीसी संशोधनसहित पास गर्नुपर्ने पक्षमा छन् भने नेपाली कांग्रेस र जनता समाजवादी बिना संशोधन पास गर्नुपर्ने पक्षमा छन् ।

यस्तै सत्ता गठबन्धनले एमसीसीबारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले कार्यदल बनाएको हो ।

कार्यदलमा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेका छन् । न्यूजअफनेपाल 

Europass CV in Nepal