काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन दाहाल ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् । बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवासमा गृहप्रवेश गरेको उनको सचिवालयले जनाएको छ ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानमात्रै बालुवाटार छोडेका थिए । डेढ वर्षअघि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा अहिले फेरि प्रधानमन्त्री बन्नेमा आशावादी थिए । यही बीचमा उनको बुढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भारको काम प्रारम्भ भएको थियो । तर, अचानक बालुवाटार छोड्नुपर्ने भएपछि धुम्बाराहीमा घर खोजेर डेरा सरेका हुन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो तेस्रो कार्यकाल हो । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर दाहाल आइतबार प्रधानमन्त्री बनेका हुन् ।
प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् । दाहाल यसअघि २०६५ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए । यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ ।