१२ पुस, काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ ।तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
एक नेताका अनुसार मन्त्रालय भागबन्डाको प्रारम्भीक खाका बनेको छ । जसअनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउनसक्छ । यद्यपि एमालेको दाबी १२ छ । उसले अर्थ मन्त्रालय लिइसकेको छ भने मन्त्रालय नटुंगिएका कारण एमालेबाट मन्त्री भएका तीन जनाले मन्त्रालय पाएका छैनन् ।
यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् र रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ ।
एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको एक नेताले बताए । त्यसो भएमा जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना छ ।
माओवादीबाट को-को छन् मन्त्रीका आकांक्षी?
पार्टीभित्र मन्त्री पदका आकांक्षी धेरै भएपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुन-कुन नेतालाई मन्त्री बनाउने भन्ने विषयमा सकस भइरहेको छ। मन्त्री बन्ने दौडमा शीर्षस्थ नेताहरूमा वर्षमान पुन, शक्ति बस्नेत छन्। त्यस्तै महिन्द्र राय यादव, सुदन किराँती, अमरलाल मोदीले पनि मन्त्री पदमा दाबी गरेका छन्। राजन दाहाल, गंगा कार्की, माधव सापकोटा, सूर्यमान दोङ्ग, हितबहादुर तमाङलगायत मन्त्री पदको आकांक्षी रहेको माओवादीका एक नेताले बताए।
मन्त्री भइसकेका पुरानो नेतालाई मन्त्रीमा नदोहोर्याउने पार्टीले मापदण्ड बनाएको माओवादीका पोलिटव्युरो सदस्य भरतप्रसाद साहले बताए। ‘धेरै नेताहरू मन्त्री बन्न चाहनुहुन्छ। दुई-चार दिनभित्र कुन नेतालाई कुन मन्त्रालयको जिम्मेवारीमा पठाउने पार्टीले निर्णय गर्छ,’ उनले भने, ‘जसपा, नेकपा एस, राप्रपालगायत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्रीज्यु छलफलमा हुनुहुन्छ।’ उनीहरूसँग सहमति भएपछि माओवादीबाट कसलाई सरकारमा पठाउने अन्तिम टुंगो लाग्ने उनले बताए।
गठबन्धनमा भागबण्डदा हुँदा माओवादीले ५ वटा मन्त्रालय पाउने सम्भावना रहेको माओवादीका केन्द्रीय सदस्य रामकुमार शर्माले अन्नपूर्णलाई बताए। देउवा नेतृत्वको गठबन्धन टुटेपछि एमालेको समर्थनमा नयाँ समीकरण बनाएर पार्टी अध्यक्ष दाहाल प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वधार तथा यातायातमन्त्री भइसकेका छन्।
पार्टीले नयाँ अनुहारका युवाहरूलाई मन्त्री बनाउने नेता शर्माले बताए। ‘लाखौं जनताले मतदान गरेर नयाँ काम गर्ने अनुहार रोजेको छ। त्यसैले युवाहरूलाई पार्टी मन्त्री बनाउनेजस्तो छ,’ उनले भने, ‘जनमतको सम्मान गर्नु र जनविश्वास आर्जन गर्न सरकारको पहिलो प्राथमित हुनुपर्छ।’