एजेन्सी । महान ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो । उनकी छोरी केली नासिमेन्टोले सामाजिक सञ्जालमा उनको मृत्युको जानकारी दिएकी छन् ।
पेले पेटको क्यान्सरसँग लडिरहेका थिए । उनलाई २९ नोभेम्बरमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो । उनको केमोथेरापी मार्फत उपचार गरिएको थियो । तर, उनले त्यसबाट कुनै लाभ पाउन सकेनन् । यसपछि केमोथेरापी रोकियो र दुखाइ कम गर्ने औषधि दिइयो । उनको मृगौला र मुटुको समस्या पनि थियो ।
पेलेलाई नियमित चेकअपका लागि अस्पतालमा भर्ना गरिएको थियो तर बिस्तारै उनको अवस्था बिग्रन थालेपछि अस्पतालले उनलाई मृत घोषणा गरिसकेको छ । पेलेलाई क्यान्सर र मुटुको समस्या थियो । उनको कोलोन ट्युमर सेप्टेम्बर २०२१ मा हटाइयो । त्यसपछि उनलाई केमोथेरापी दिइएको थियो ।
पेले यसअघि पनि पटकपटक चेकअपका लागि अस्पताल भर्ना भएका थिए । हालै कतारमा फिफा विश्वकपको शुरुवातमा पेलेले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा फोटो पोस्ट गर्दै समर्थन गरेकोमा फ्यानहरुलाई धन्यवाद दिएका थिए ।
पेलेको वास्तविक नाम एडसन एरान्टेस डो नासिमेन्टो हो । उनको डिको, पेले र द ब्ल्याक पर्ल उपनाम हुन् । पेलेको जन्म २३ अक्टोबर १९४० मा ब्राजिलको मिनास गेराइसमा भएको थियो । उनका तीन श्रीमती छन् । तर कति बालबालिका छन् भन्ने विषयमा विवाद छ ।
पेले आफैंले एक अन्तर्वार्तामा आफूले कति सन्तान छन् भन्ने पनि याद नभएको बताएका छन् । तर, आधिकारिक अभिलेखमा पेलेका ७ सन्तानको नाम छ । पेले गरिबीमा हुर्केका थिए, उनका बुबा एक सफाई कर्मचारी थिए । उनले ब्राजिलको साओ पाउलोको सडकमा फुटबल खेल्न थाले । आर्थिक अभावका कारण उनले चिया पसलमा पनि काम गरे ।
पेलेको जन्म हुँदा उनको नाम एडिसन थियो । उनका परिवारका सदस्यहरूले पनि उनलाई मायाले डिको भन्ने गर्थे । उनलाई बाल्यकालदेखि नै फुटबलको लगाब थियो । उनका बुबाले ब्राजिलियन क्लब फ्लुमिनेन्सका लागि खेलेका थिए । तर, पैसाको अभावमा उनी सफाईकर्मी बन्नुपरेको थियो । पेले आफ्नो क्षेत्रमा रहेको स्थानीय क्लब भास्को द गामाका गोलकिपर बिलेलाई निकै मन पराउँथे । जब उनी स्कुलमा फुटबल खेल्थे, साथीहरूले उनलाई पेले भनेर बोलाउन थाले । त्यसपछि उनको नाम पेले राखिएको थियो ।
पेले आफ्ना साथीहरूसँग आफ्नो गल्लीमा फुटबल खेल्थे । गरिबीमा हुर्केका उनीसँग फुटबल किन्न पैसा थिएन । त्यसैले उनीहरू मोजामा कपडाहरु भरेर भरेर, डोरीले बाँधेर खाली खुट्टा खेल्थे ।
१२–१३ वर्षको उमेरमा, पेले आफ्नो गृहनगर बौरुको स्थानीय क्लब रेडियम फुटबल टोलीबाट खेल्न थाले । उनको सहरमा पहिलो पटक ५–५ खेलाडीबीच इन्डोर प्रतियोगिता भएको थियो । उनले यस प्रतियोगितामा भाग लिएर च्याम्पियनसिप जितेका थिए । एउटा प्रतियोगिताको आयोजक समितिले भने उनी नाबालग भएको भन्दै सहभागी हुन दिएनन् । उनले अस्वीकार गरेर झगडा गरी–गरी प्रतियोगिता खेले र त्यसमा सबैभन्दा धेरै गोल गरे। यहाँबाट उनको परिचय नै बदलियो ।
१६ वर्षको उमेरमा, पेले आफ्नो क्लब सान्तोसबाट नियमित रूपमा खेल्न थाले र सोही वर्ष लिगको शीर्ष स्कोरर बने। १९५७ मा, युभेन्टस, रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेड जस्ता युरोपका ठूला क्लबहरूले उनलाई अनुबन्ध गर्ने प्रयास गरे तर पेले ती क्लबहरूमा सामेल भएनन् ।
उनको पहिलो विवाह १९६६ मा भएको थियो र १९८२ मा सम्बन्ध विच्छेद भयो । पहिलो पत्नीको नाम रोज मारी डोस रेइस थियो । उनका तीन सन्तान थिए । पेलेले सन् १९९४ मा दोस्रो विवाह गरे र सन् २००८ मा सम्बन्धविच्छेद गरे । दोस्रो पत्नीको नाम एसेरिया लेमोस सिक्स थियो । उनले सन् २०१६ मा तेस्रो विवाह गरेका थिए । श्रीमतीको नाम मार्सिया ओकी हो । अहिले उनी पेलेसँगै बस्दै आएकी थिइन् ।
पेले फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक थिए । उनले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० गरी तीनवटा विश्वकपको उपाधि दिलाएका थिए । तीन विश्वकप उपाधि जित्ने उनी विश्वकै एक मात्र खेलाडी हुन् । उनले ४ विश्वकप खेलेका छन् । जसमध्ये टोलीले तीन पटक उपाधि जितेको छ । उनले सन् १९७१ मा ब्राजिल राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए ।
पेलेले ब्राजिलबाट ९२ खेल खेलेका छन् र ७८ गोल गरेका छन् । ब्राजिलका लागि उनीपछिको दोस्रो सर्वाधिक गोलकर्ता नेयमार हुन् । नेयमारले १२४ खेलमा ७७ गोल गरेका छन् ।
पेलेले सन् १९५८ मा पहिलो पटक विश्वकप जितेका थिए । १९५८ को विश्वकपमा वेल्सविरुद्ध ब्राजिलको क्वार्टरफाइनल खेलमा फिफा विश्वकपमा आफ्नो पहिलो गोल गर्दा पेले १७ वर्ष २३९ दिनका मात्र थिए । यसपछि उनी फिफा विश्वकप प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने ।
उनले १७ वर्ष २४४ दिनको उमेरमा विश्वकपको सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक समेत गरेका थिए । योसँगै उनी ह्याट्रिक गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बनेका छन् । उनले फाइनलमा पनि गोल गर्दै ब्राजिललाई विश्वकप जिताए । १८ वर्षको उमेरअघि विश्वकपमा गोल गर्ने पेले विश्वका एक मात्र खेलाडी हुन् ।
फुटबलमा भ्रष्टाचार अन्त्य होस् भनेर सन् १९९५ मा ब्राजिलका राष्ट्रपतिले पेलेलाई खेलकुद मन्त्री बनाएका थिए । यसपछि पेलेको कानुन पनि उनको नाममा बनेको थियो । यसमा सबै व्यावसायिक फुटबल क्लबले २ वर्षभित्र सरकारलाई कर बुझाउनुपर्ने थियो ।
पेलेको निधनमा कसले के भने ?
मेसी – अर्जेन्टिनाका विश्वकप विजेता लियोनल मेसीले पेलेसँगको आफ्नो तस्विर इन्स्टाग्राममा पोष्ट गर्दै लेखेका छन्– ‘रेस्ट इन पिस पेले’ रोनाल्डो – पोर्चुगलका दिग्गज फुटबलर क्रिस्टियानो रोनाल्डोले इन्स्टाग्राममा पेलेबाट अवार्ड ग्रहण गरेको तस्विर पोष्ट गर्दै लेखेका छन् – ‘सबै ब्राजिलियनहरू र विशेष गरी श्री एडसन एरान्टेस डो नासिमेन्टोको परिवारलाई मेरो गहिरो समवेदना । केवल अलविदा भन्न पर्याप्त हुनेछैन । पेले लाखौंको लागि प्रेरणाका स्रोत थिए, छन् र हुनेछन् । विश्वका कुनै पनि फुटबल प्रेमीले उहाँलाई कहिल्यै भुल्ने छैनन् । किंग पेले, ‘रेस्ट इन पिस’ ।’
नेयमार – ब्राजिलियन फुटबलर नेयमारले कतार विश्वकपमा पेलेको अन्तर्राष्ट्रिय गोल (७७) बराबरी गरेका छन् । उनले इन्स्टाग्राम मार्फत पेलेलाई श्रद्धाञ्जली दिएका छन् । उनले लेखेका छन् – ‘पेले भन्दा पहिले, १० केवल एक संख्या थियो, तर अब यो एक शीर्षक जस्तै छ । पेलेले फुटबलमा परिवर्तन ल्याएका छन् । उनले फुटबललाई कलात्मक र मनोरञ्जनात्मक बनाएका छन् । पेलेले गरिब अश्वेतलाई आवाज दिएका छन् । पेले आफू अस्ताएपनि उनले आफ्नो जादू संसारमा छोडेका छन् । पेले सधैंभरि बाँच्नेछन् ।’
ओबामा – पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पेलेलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले ट्वीटरमा पेले अहिलेसम्मकै उत्कृष्ट फुटबल खेलाडीमध्ये एक भएको लेखेका छन् । विश्वकै उत्कृष्ट खेलाडी पनि हुन् । उनले भनेका छन् ‘खेलकुदमार्फत जनतालाई एकताबद्ध हुन सिकाउनुभयो । उहाँको परिवारसँग हाम्रो सहानुभूति छ ।’