छोराले पुरै देशैलाई रुवाएर गएपछि निराकार पाण्डेका बुवा अग्निप्रसादले दिए यस्तो प्रतिकृय

छोराले पुरै देशैलाई रुवाएर गएपछि निराकार पाण्डेका बुवा अग्निप्रसादले दिए यस्तो प्रतिकृय

शुक्रबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश ‘भाइरल’ भयो। उक्त भिडियोमा एक युवक आफू जहाँ गए पनि छोरालाई सधैं माया गर्ने भन्दै असल हुन भनिरहेका थिए। निराश मुद्रामा देखिने ती युवकको पछाडिको दृश्यमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो। अडेस लागेको भाग कुनै भवनको झ्यालको थियो। उनी छोरालाई भनिरहेका थिए, ‘बाबा अलवेज लभ्स यु। कसैलाई चिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’ भिडियोले छिनभरमै सामाजिक सञ्जाल ढाक्यो। धेरैले भिडियो राखेर लेखेका थिए, ‘हार्दिक श्रद्धाञ्जलि विपिन। तिमी महान् बाबु हौ।’

उक्त भिडियो सन्देश थियो झापा बिर्तामोड– १ अतिथि सदन रोड घर भएका ३९ वर्षीय निराकार पाण्डे (विपिन) को। उनले थाइल्यान्डको सीमा नजिक कम्बोडियाको पोइपोटस्थित ग्रान्ड डायमन्ड सिटी होटलबाट उक्त भिडियो सन्देश पठाएका थिए छोराको लागि। यो सन्देश नै उनको परिवारका लागि अन्तिम सन्देश बन्न पुग्यो। उनी बसेको होटल र त्यहाँ रहेको क्यासिनोमा आगलागी हुँदा उनी १२औं तलामा फसेका थिए। उद्धार नभएपछि र कुनै उपाय नभएपछि कोठाको भ्mयालमा बसेर भिडियो सन्देश पठाएर उनी त्यहाँबाट बच्न सकिन्छ कि भनेर हाम्फालेको बताइएको छ। त्यसै क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विपिन बास बसेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति अचानक आगलागी भएपछि पाण्डेले आपूm फसेको थाहा पाएका थिए। चारैतिरबाट आगोले घेरेपछि उनी हाम्फालेका थिए। क्षत्विक्षत अवस्थामा उनको शव पहिचान भएको बताइएको छ। विभिन्न देशका चार सयभन्दा बढी नागरिक आगलागीमा फसेका थिए। थाइल्यान्डका धेरै नागरिक उक्त होटल र क्यासिनोमा काम गर्थे।

Europass CV in Nepal

आगलागीमा फसेकाहरूको लामो समयसम्म उद्धार हुन नसक्दा पाण्डेसहित धेरैले ज्यान गुमाए। गैरआवासीय नेपाली संघ कम्बोडियाका अध्यक्ष लाल खड्काका अनुसार उक्त आगलागीमा शुक्रबार अपराह्नसम्म २६ जनाको मृत्यु भएको छ भने ७३ जना गम्भीर घाइते भएका छन्। होटल र क्यासिनोमा भएको आगलागीमा हाम्फालेर केहीको ज्यान गएको छ। कतिपयको खुट्टा भाँचिएको छ।

आगो निभाउन ११ वटा दमकल प्रयोग गरिएको थियो। हेलिकप्टरसहित ३ सय प्रहरी अधिकारी घटनास्थलमा खटेका थिए। १७ तले भवन भएकाले आगो निभाउन कठिन भएको स्थानीय प्रहरी अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। ‘घटनापछि फस्ट फ्लोरको छतमा पाण्डेको डेथबडी भेटियो’, अध्यक्ष खड्काले अन्नपूर्ण पोस्ट्सँग भने, ‘दूतावासले आएर हेरिसकेको छ। सम्भवतः छिट्टै पाण्डेको शव नेपाल पठाउने प्रक्रिया पूरा हुन्छ।’

अध्यक्ष खड्काका अनुसार पाण्डे एक महिनादेखि उक्त होटलमा बसेका थिए। पाण्डे यसअघि पनि तीन महिना कम्बोडियामा बसेर नेपाल फर्किएको जनाइएको छ। नोभेम्बर ७ मा थाइल्यान्ड उडेका पाण्डे घूमघामका लागि सीमावर्ती कम्बोडिया पुगेका हुन्। कान्छा भाइको बिहेपछि उनी थाइल्यान्ड गएका थिए। बिहेपछि भाइ नीराजन अमेरिका फर्किसकेका छन्। ‘आगोबाट बचेर निस्किने अवस्था रहेन भन्दै दाइले फोन गर्नुभयो’, मृतकका कान्छा भाइ नीराजनले अमेरिकाबाट भने, ‘जे नहुनु थियो, भएर छोड्यो। बियोगको यो पीडा सहन असाध्यै कठिन हुँदो रहेछ।’

होटलको सातौं तलाबाट आगलागी सुरु भएको थियो। आगो फैलिरहेको र बाहिर निस्कन सक्ने अवस्था नरहेको जनाउँदै पाण्डेले समयमा उद्धार नभए मृत्युको सामना गर्नुको विकल्प नहुने बताएका थिए। पाण्डेले अब आफू मृत्युको मुखमा पुगेको र बाँच्न मुस्किल भएको बताउँदै काठमाडौंमा रहेकी श्रीमती शशिकला र दाजु निरजलाई सुरुमा फोन गरेका थिए।

कोरोना संक्रमणका कारण पाण्डेलाई श्वासप्रश्वासको समस्या थियो। उनले आगो दन्किरहेको र धुवाँको मुस्लो आइरहेकाले समस्या हुने बताइरहेका थिए। होटलमा आगो लागिरहँदा १२औं तलामा रहेका पाण्डेले मध्यराति १२ बजेदेखि बिहान ४ बजेर २६ मिनेटसम्म लगातार परिवार र आफन्तसँग भाइबरमा कुराकानी गर्न भ्याए। आफन्त, साथीभाइ र कतिपय सञ्चारमाध्यमलाई भाइवर र ह्वाट्सअपमा सम्पर्क गरी पाण्डेले आफू संकटमा फसेको र बाँच्न सक्ने अवस्था नरहेको बताएका थिए।

‘उसले आगो नियन्त्रण नभए हाम्फाल्नुको विकल्प नभएको बताइरहेको थियो। मैले त धेरैबेर कुरा गर्न पनि सकिनँ’, मृतकका बाबु अग्निप्रसाद पाण्डेले भने, ‘यस्तो पीडादायी अवस्था कसैले सोच्नु र सामना गर्नु पनि नपरोस्।’ होटलमा आगलागी भएको र छोरो फसेको थाहा पाएपछि काठमाडौंमा रहेकी आमा लीलादेवी रातभर निदाउन सकिनन्। मृत्युको मुखमा पुगेर उद्धारको पर्खाइमा रहेका श्रीमान्लाई बचाउन सक्ने कुनै सामथ्र्य श्रीमती शशिकलासँग पनि थिएन। नाबालक १० वर्षीय छोरा आर्मनलाई च्यापेर उनले भगवान्सँग प्रार्थना गरिन्। तर, हुनेहार दैव नटार, भगवान्ले पनि शशिकलाको प्रार्थना सुनेनन्। बिहीबार मध्याह्नसम्म श्रीमान्को मृत्युको खबर फैलियो।

मृतक पाण्डेका बाबु अग्नि बिर्तामोड–१ का वडाध्यक्ष हुन्। मृतक पाण्डे माइँलो सन्तान हुन्। उनका अरू तीन दाजुभाइ निरज, निश्चल र नीराजन छन्। छोराको मृत्युको खबरपछि उनी काठमाडौं पुगेका छन्। आमा लीलादेवी काठमाडौंमै थिइन्। पाण्डेकी श्रीमती शशिकला लोहनी र छोरा आर्मन काठमाडौंको सुकेधारामा बस्दै आएका छन्।

शव ल्याउन पहल थालियो

घटनापछि पाण्डेको शवलाई नेपाल ल्याउने भन्ने विषयमा पहल भइरहेको छ। एमाले नेता अग्नि खरेलले छोराको शव नेपाल ल्याउन पहल गरेको र मंगलबारसम्म नेपाल आइपुग्ने मृतकका बाबु पाण्डेले बताए। उनका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले पाण्डेको शव बुझेको छ।

दूतावासका प्रथम सचिव खगराज पाण्डेले शव बुझिसकेको उनले जानकारी दिए। आगो नियन्त्रणमा आउने छाँटकाँट नदेखेपछि पाण्डेले घटनाबारे परिवारका सदस्यलाई सुनाए। परिवारका सदस्यसँग ४ घण्टाभन्दा बढी कुरा भयो। आगलागीको दृश्य देखाउँदै उनले आफू मृत्युको मुखमा पुगेको र अब होटलको १२औं तलाबाट हाम्फाल्नुको विकल्प नभएको सुनाए।

‘आगोले शरीर जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास पाउँछ भन्ने उसको सोचाइ रहेछ’, झापाको बिर्तामोडमा रहेका भाइ निश्चल पाण्डेले भने, ‘आगो लागेपछि उसले उम्किन खोजेको तर प्रयास सफल नभएको बताइरह्यो।’ दाजु निरजका अनुसार कान्छा भाइ नीराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका हुन्। कम्बोडियामा भाइ बसेको होटलमा आगलागी भएको थाहा भएपछि दाजु निरज श्रीमती र आमासहित बुहारी र भतिजो भेट्न सुकेधारा पुगेका थिए। भिडियो कलमा परिवारका सदस्यले नआत्तिन सम्झाइरहे। चाँडै उद्धार हुन्छ भन्दै आफूहरूले आत्मबल दिएको मृतकका जेठा दाजु निरज बताउँछन्।

निराकारले होटलको १२औं तलाबाट आगलागीको दृश्य देखाएपछि परिवारका सदस्यमा बेचैनी बढेको थियो। घाइतेको उद्धारका लागि आएका एम्बुलेन्स कराइरहेका थिए। प्रहरीको बाक्लो उपस्थिति थियो। दमकलले तेस्रो तलाभन्दा माथि पानी हाल्न नसकेपछि आगो नियन्त्रणमा लिन १२ घण्टाभन्दा बढी समय लागेको थियो।

उद्धार टोली पर्खिंदा—पर्खिँदै होटल ध्वस्त भएको छ। निरजका अनुसार उक्त होटलमा सन् २०१९ मा पनि आगो लागेको थियो। कम्बोडियाका सञ्चारमाध्यमले झोला भिरेर होटलको झ्यालमा टर्चलाइट र मोबाइल बोकेर बसेको निराकारको फोटो छापेका छन्। उनले भिडियोमा कुरा गरिरहँदा कोठाभित्र धुवाँ छिरेको देख्न सकिन्छ। पाण्डेको मृत्युपछि झापाको बिर्तामोड–१ अतिथि सदनरोडस्थित घरमा छरछिमेकी र आफन्तको भीड लागेको छ। भाइ निश्चललाई भेटेर शुभचिन्तकले सान्त्वना दिइरहेका छन्। ‘मृत्युको मुखमा पुगेको अवस्थामा कमजोर मुटु भएकाले कसैसँग कुरा गर्न सक्दैन्’, छिमेकी हिमा सिटौलाले भनिन्, ‘निराकार भाइ साँच्चिकै आँटिला र साहसी रहेछन्।’

१० वर्षीय छोरालाई पाण्डेको अन्तिम सन्देश

गहभरि आँसु पारेर मृत्युलाई आत्मसात् गरेका पाण्डेले भिडियोमार्फत छोरा आर्मनलाई अन्तिम सन्देश दिएका छन्। उनले आफू जहाँ गए पनि सधैं माया गर्ने भन्दै छोरालाई असल हुन सुझाएका छन्। अन्तिम समयमा छोरासँग कुरा गर्दै पाण्डेले भनेका छन्, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यु। ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नु हुन्न, फ्रड गर्नुहुन्न। आमा बुवा र ममीलाई माया गर्नु है छोरा।’

आफूले सकेको सहयोग गर्नुपर्ने बताउँदै उनले विशेषगरी मामा, माइजूहरूलाई कहिल्यै पनि चित्त नदुखाइदिनु भनेका छन्। उनले भिडियोमा भनेका छन्, ‘लमजुङका बुवाआमाले पनि धेरै गर्नु भएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलो बाबा भन्छौं। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ।

उसलाई एकदम रेस्पेक्ट गर्नू, है बाबु। मैले जे जति दुःख गरें, हुन्छ कि भनेर कोसिस गरेँ छोरा। मैले सकिनँ है। तिमीसँग बिताएका पलहरू सधैं यादगार रहनेछन्। सधैं शशि मामु, अग्नि बुवा आमासँग भान्जाहरूसँग तिम्रो मामा यानिकी मेरो साढु है, मेरो जेठान शान्ति साली गोथ्ले, तिम्रो भाइ आर्या दिदी, सार्थक भाइ, आरभ भाइ सबैलाई माया र इज्जत गर्नू, कसैलाई फ्रड नगर्नू, ज्ञानी बन्नू।’

‘छोराले देशलाई रुवाएर गयो’ अग्निप्रसाद पाण्डे, बाबु

आफ्ना अगाडि मृत्युबाहेक अरू केही विकल्प नभएपछि मान्छेले बाँच्ने उपाय खोज्दो रहेछ। छोराले होटलबाट हाम्फालेर बाँच्ने उपाय रोज्यो। तर, उसलाई पनि थाहा थियो कि, यति माथिबाट हाम्फाल्दा बाँच्न सकिँदैन भनेर। उसले होटलको १२औं तलाबाट हाम्फालेको देखिन्छ। मेरो छोरोले मृत्यु अगाडि एउटा आँट र साहस देखाएर घरपरिवार र साथीभाइसँग कुरा गरेको छ। आगोले जलेर खरानी हुनुभन्दा हाम्फालेर मर्दा परिवारले लास हेर्न पाउँछ भन्ने उसको सोच देखियो। मलाई मात्रै होइन छोराले देशलाई रुवाएर गएको छ। उसकी आमा, श्रीमती र परिवारका सदस्यलाई सम्हाल्न गाह्रो छ अहिले। काँबुभन्दाको परिस्थितिमा मान्छेले के गर्न सक्छ र ? उसले जसरी घर परिवारका सदस्य र आफन्तलाई सम्झियो, यो जीवनको अन्तिम क्षणमा ठूलो कुरा रहेछ। भिडियोमा पनि उसले आफ्नो लास जसरी भए पनि घरपरिवारसँग पुर्‍याइदिन अपिल गरेको रहेछ।

मैले उसले अन्तिम समयमा बोलेको भिडियो हेर्न सकेको छुइनँ। मनमा अनेक पीडा छन्। उसको शव कसरी ल्याउने भन्ने चिन्ता छ। एमाले नेता अग्नि खरेलले शव नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइदिनुभयो। शव सकेसम्म छिटो नेपाल ल्याउने गरी नेता खरेल लाग्नु भएको छ। भर्खर थाइल्यान्डस्थित नेपाली दूतावासले शव बुझेको जानकारी पाएको छु। मंगलबारसम्म शव नेपाल आइपुग्छ भन्ने छ। दूतावासका प्रथम सचिव खगराज पाण्डेले शव बुझिसकेको थाहा पाएँ।

‘अरू नेपाली सुरक्षित छन्’

लालसिंह खड्का, अध्यक्ष, गैरआवासीय नेपाली संघ कम्बोडिया

निराकार एक महिनादेखि उक्त होटलमा बसेका रहेछन्। आउने, खानेजाने भइरहेको रहेछ। अचानक बुधबार राति होटलमा आगो लागेपछि उनी बाहिर निस्किन सकेनन्। होटलमा राति सुतेकाहरू मात्र समस्यामा परे।

सुरेन्द्र नाम गरेका एकजना नेपाली सुरक्षित रहेको जानकारी पाएका छौं। तर, उनी अहिले भने सम्पर्कमा आएका छैनन्। सायद आफन्त र साथीभाइसँग बसेका होलान्। होटल र क्यासिनोमा काम गर्ने अरू तीन जना नेपाली कामदार भने सुरक्षित छन्।

उनीहरूले मलाई फोन गरेर हामी सुरक्षित रहन सफल भयौं भनिसके। अरू नेपाली भएको खुलेको छैन। पाण्डे भाइको शव होटलको फस्ट फ्लोरको छतमा भेटियो। उनले मलाई पनि भिडियो क्लिप्स पठाएर जसरी भए पनि शव नेपाल पठाइदिनू भनेका रहेछन्।

मैले आवश्यक सहयोग र समन्वय गरिरहेको छु। अब दूतावासले पनि यसमा चासो राखेर काम अगाडि बढाइसकेको छ। पैसाको आवश्यक चाँजोपाँजो भयो भने छिट्टै शव नेपाल आउन सक्छ। अब दूतावासले जतिसक्दो छिटो गर्‍यो त्यति नै छिटो हुने हो। शुक्रबार अपराह्नसम्ममा मृतकको संख्या २६ जना पुगेको छ। कैयौं घाइते छन्। समयमा रेस्क्यु हुन नसक्दा दुःखद् घटना भयो।