१८ पुस, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शितलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।
मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । प्रजिअ उपाध्यायका अनुसार मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयबाट भर्चुअल रूपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिने जनाइएको छ ।
गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृह प्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए। उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ।
यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसकेका छन्। आजको बैठकमा भने गृह मन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ ।
यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिनुहुने गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफूले गृह मन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसकेका छन्।
मुख्यतः आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ।





