महान फुटबललर पेलेको अन्त्येष्टिमा श्रद्धाञ्जली दिनेको भिड लाखौंको संख्यामा

महान फुटबललर पेलेको अन्त्येष्टिमा श्रद्धाञ्जली दिनेको भिड लाखौंको संख्यामा

एजेन्सी । विश्व फुटबलका महान् खेलाडी पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कारअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको भिला बेलमेरो रंगशालामा राखिएको छ ।

पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । सान्तोषको सोही मैदानमा पेलेले उत्कृष्ट समय व्यतित गरेका थिए । यस्तै उनले ब्राजिललाई तीन पटक (१९५८, १९६२ र १९७०) विश्वकप उपाधि दिलाएका थिए ।

उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनलाई सन् २०२१ मा उनलाई कोलोन क्यान्सर रहेको पत्ता लागेको थियो । त्यसबेला शल्यक्रियापछि पेटबाट ट्युमर निकालिएको थियो । त्यसपछि उनले नियमित रुपमा केमोथेरापी गराउँदै आएको थियो । गत नोभेम्वरमा उनको स्वास्थ्यमा थप समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालबाट पेलेको पार्थिव शरीरलाई आतिशबाजीसहित सान्तोस क्लबमा लगिएको थियो । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको लामो लाइन लागेको छ । उनका प्रशंसकहरु दुई घण्टा भन्दा बढी समयसम्म लाइनमा बसेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

यस्तै विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले पनि पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली अर्पणपछि अध्यक्ष इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताउँदै फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गरेका छन् ।

सन् १९४० मा जन्मिएका पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।