नेपालबाट जिम्मेवारी आफ्नो काँधमा लिने इमरान खानले इच्छा देखाए

नेपालबाट जिम्मेवारी आफ्नो काँधमा लिने इमरान खानले इच्छा देखाए

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपालको काँधबाट जिम्मेवारी आफ्नो काँधमा लिने इच्छा देखाएका छन् । उनले रोकिएको सार्क शिखर सम्मेलन आयोजना गर्ने चाहना व्यक्त गरेका हुन् । अहिले सार्कको अध्यक्ष नेपाल हो र अबको शिखर सम्मेलनपछि पाकिस्तानले सार्कको अध्यक्षता ग्रहण गर्नेछ ।

२०१४ मा काठमाडौंमा भएको शिखर सम्मेलनपछि नेपाल अध्यक्ष भएकोमा २ वर्षपछि २०१६ मा पाकिस्तानले शिखर सम्मेलन आयोजना गरेर अध्यक्षताको जिम्मेवारी लिनुपर्ने थियो । तर, ७ वर्षयता सार्कको शिखर सम्मेलन हुन सकेको छैन र ७ वर्षदेखि नेपालले अध्यक्षताको जिम्मेवारी हस्तान्तरण गर्न पाएको छैन ।

पाकिस्तानी प्रधानमन्त्रीले सार्कको शिखर सम्मेलन आयोजना गर्न केही कृत्रिम अवरोध भएको र यी अवरोध हटाएपछि पाकिस्तानले शिखर सम्मेलन आयोजना गर्ने बताए । शुक्रबार इमरान खानले सार्कका महासचिव एसाला रुवान वीराकुनसँग इस्लामाबादमा भेटघाट गरेका थिए । यस विषयमा पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।

Europass CV in Nepal

भेटघाटमा पाकिस्तानी प्रधानमन्त्रीले सार्क देशहरुबीच आर्थिक तालमेल कायम राख्नको लागि पाकिस्तानले एक अनुकूल र फाइदाजनक वातारण प्रदान गर्न सक्ने बताउँदै यसले दक्षिण एसियाका जनताको जीवन परिवर्तन गर्न सक्ने बताए । इमरानले जलवायु परिवर्तन, शिक्षा, गरिबी उन्मूलन, ऊर्जा एकीकरण र स्वास्थ्य चुनौतीहरुसहित सामान्य हितका मुद्दाहरुमा सहयोग मजबुत बनाउनेतर्फ पनि जोड दिए ।

महासचिव वीराकुनले सार्कसँग सम्बन्धित मुद्दामा मार्गदर्शनको लागि प्रधानमन्त्री इमरानलाई धन्यवाद दिए र आफ्नो कार्यकालको क्रममा दक्षिण एसियाली क्षेत्रका सबै देशको लाभको लागि सदस्य देशहरुबीच सहयोग बलियो बनाउनको लागि दृढ प्रयास गर्ने आश्वासन दिए । भेटमा पाकिस्तानी प्रधानमन्त्रीले यही महिनाको सुरुवातमा सियालकोटमा श्रीलंकाली नागरिकको भीडले हत्या गरेको घटनाको निन्दा गरे । उनले अपराधीलाई सजाय दिलाउन सबै प्रयास गर्ने आश्वासन दिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको २०१६ मा शिखर सम्मेलन हुन नसकेपछि यसको प्रभाव कम भएको छ । २०१६ को नोभेम्बर १५ देखि १९ सम्म इस्लामाबादमा शिखर सम्मेलन हुने तय थियो तर २०१६ को सेप्टेम्बर १८ मा जम्मु कश्मिरको उरीमा भारतीय सेनाको शिविरमा आतंकवादी आक्रमण भएपछि भारतले शिखर सम्मेलनमा सहभागी हुन नसक्ने बताएको थियो । त्यसयता शिखर सम्मेलन हुन सकेको छैन ।

Europass CV in Nepal