त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को पाँचौँ स्थानमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको छ।
कांग्रेसबाट त्यस्तो प्रस्ताव आएको कुरालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्वीकार गरेनन् तर त्यसबारे उनले खुलेर पनि बोलेनन्।यद्यपि देउवा निकट समेत मानिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले “त्यस्तो प्रस्ताव नगरिएको” बीबीसीलाई बताएका छन्।
तर कांग्रेसकै केही नेताहरूले चाहिँ प्रचण्डले लिने विश्वासको मत विफल पार्न अर्को गठबन्धन निर्माणबारे कुराकानी भइरहेको बताएका छन्।उनीहरूका भनाइमा सभापति देउवा र कांग्रेस नेताहरूले चुनावी तालमेल समेत गरेको गठबन्धनलाई अन्तिम अवस्थामा छाडेर प्रचण्ड जानुलाई “राजनीतिक कू”का रूपमा लिएकाले वैकल्पिक गठबन्धनको कसरत भएको हो।
बिहीवार साँझ देउवाले लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव गरेको खबर छापिएको थियो।देश सञ्चार डटकमले स्रोतहरूलाई उद्धृत गर्दै “प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसले गर्यो लिङ्देनलाई प्रधानमन्त्री अफर” शीर्षकमा समाचार लेखेको थियो।
त्यसबारे शुक्रवार बीबीसीले लिङ्देनलाई सोध्दा उनले पनि त्यस्तो प्रस्ताव आएको कुरा अस्वीकार गरेनन्। तर उनी त्यसमा खुल्न पनि चाहेनन्।लिङ्देनले बीबीसीसँग भने, “हैन, यस्तो कुरा भइराख्छ नि! यस्तो तरल अवस्थामा, अब जे परिणाम आउँछ अनि मात्र कुरा हुन्छ।”
“हामी आफैँ सरकार निर्माणमा लागिराखेका छौँ, सरकारलाई पूर्णता दिने कुरामा… कुरा त अनेक प्रकारका आइराख्छन्।”त्यस्तो प्रस्ताव आएको कुरालाई खण्डन नगरेका उनले देउवासँग अहिले भेटघाट नभएको भने स्पष्ट पारे।’के उसो भए तपाईँलाई प्रधानमन्त्री बनाउने सन्देश चाहिँ आएको हो?’ भन्ने प्रश्नमा लिङ्देनले भने, “यो अहिले समाचार बनाउनै पर्ने खालको विषय बनिसकेको छैन।”
देउवानिकट मानिने नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चाहिँ लिङ्देनलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।बीबीसीसँग शुक्रवार कुराकानी गर्दै उनले भने, “त्यस्तो छैन। खाली व्यक्तिगत रूपमा यसो भए पनि हुन्थ्यो भन्ने भयो भने फरक कुरा हो।” उनले अहिलेको गठबन्धन कायम रहने वा नरहने भन्ने कुरा गठबन्धनका साझेदारहरूमै निर्भर गर्ने बताए।