मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

श्रीमतीमाथि घरेलु हिंसा आरोपित डा.पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान

Himali Patrika 1 मिनेट पढाइ

दाइजोकै निहुँमा श्रीमतीमाथि घरेलु हिंसा गरी घर निकाला गरेको आरोप लागेका महोत्तरीको रामगोपालपुर ५ का डा.पंकज चौधरीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिए । बिहीबार अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो ।

अदालतको आदेश लगत्तै प्रहरीले उनलाई कारागार पठाएको छ । नेहाले घरमै पुगेर धर्ना बसेपछि डा. पंकजलाई मंसिर २७ गते साँझ महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी औरही–१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् । तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो ।

नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छन् । पंकजले भने आफूमाथि लगाएको आरोप निराधार रहेको दावी गर्दै आएका छन् । उनले आफूले विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।

नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । डा. पंकजका बुवा, आमा र परिवारका अन्य सदस्यमाथि पनि मुद्दा छ । तर उनका अन्य सबै सदस्य फरार छन् । घरमा ताला लगाएर उनीहरु सम्पर्क विहिन बनेपछि पक्राउ पर्न नसकेको प्रहरीको भनाई छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।