मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

महानगरले प्रक्रिया मिचेर बस्ती हटाउन गरेको काममा गृहले सहयोग नगर्ने

Himali Patrika 1 मिनेट पढाइ

२६ पुस, काठमाडौं । संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र वस्ती हटाउन नसघाउने भएको छ । वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ ।

१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको हो । १९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ ।

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ,’ पत्रमा भनिएको छ, ‘उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ ।’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तोकिएको विधि, कानुन र प्रक्रियाअनुसार महानगरले चालेको कदममा गृह मन्त्रालयले सघाउने बताउँछन् । ‘सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढेको खण्डमा महानगरलाई सधैं सहयोग हुन्छ’ उनले भने । गृहको यो जवाफले सकुम्बासीको पहिचान र व्यवस्थापन बस्तीमै डोजर चलाउने महानगरको योजनालाई थप धक्का लागेको छ । गृहको पत्रअनुसार तत्कालकै अवस्थामा महानगरपालिकाले आफ्नै सुरक्षा बल प्रयोग गरेर मात्रै बस्ती हटाउन सक्ने अवस्था सिर्जना भएको हो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।