काठमाडौं । दोलखाको मार्बुका रोशन रिमालको घरमा २५ पुसमा प्रहरीको टोली पुग्यो । प्रहरीको हातमा थियो रोशनका काका केशव राजश्वराज रिमाललाई पक्राउ गर्ने पुर्जि ।पक्राउ पुर्जि लिएर आएको प्रहरी देखेर दोलखा बैतेश्वर गाउँपालिका– ७ मार्बुका रिमाल परिवार अचम्मित भए ।
कारण– प्रहरीले पक्राउ गर्न आएका व्यक्तिको २२ वर्षअघि नै मृत्यु भइसकेको थियो । त्यसैले प्रहरीलाई रिमाल परिवारले भन्यो, ‘पक्राउ गर्नुभयो भने हामीलाई पनि खबर गर्नुहोला । हामी पनि भेट्छौ उहाँलाई ।’
माओवादीमा सामेल केशव राजस्वराज रिमालको ओखलढुंगामा भएको युद्धमा १ मंसिर ०५७ मै मृत्यु भएको थियो । ‘हाम्रो घरबाट बुबा राजस्वराज रिमाल, अंकल केशव राजस्वराज रिमाल र काकी लक्ष्मी पराजुली जनयुद्धमा शहीद हुनु भएको थियो,’ रोशनले सुनाए ।
रोशनका बुबा राजस्वराज रिमाल १९ मंसिर ०५९ मा र रोशनकी काकी लक्ष्मी पनि ०५९ मै मारिएकी थिइन् ।२२ वर्ष पहिले नै मरिसकेका केशवलाई विष्फोटक पदार्थ हाततियार ओसार पसार मुद्दामा पक्राउ गर्न गएको थियो प्रहरी ।
युद्धमा मारिएका केशवविरुद्ध प्रहरीले २८ जेठ ०६३ मा विष्फोटक पदार्थ तथा हातहतियार ओसारपसारको मुद्दा दर्ता गर्यो । ‘प्रहरीले उहाँ मरेको ६ वर्षपछि मुद्दा दर्ता गरेछ,’ रोशन भन्छन्, ‘यतिखेर शान्ति सम्झौता भएर माओवादी शान्ति प्रक्रियामा सामेल भइसकेको थियो ।’
मान्छे मरेको २२ वर्षपछि प्रहरी पक्राउ पुर्जि बोकेर किन गयो त ?
दोलखाका डीएसपी गंगाप्रसाद पौडेलका अनुसार यसमा प्रहरीको नभइ अदालतको कमजोरी भएको बताउँछन् । उनले भने, ‘अदालतका फैसला कार्यान्वयनमा समन्वय गर्न भनेर हामीसँग सहयोग माग्छ । अदालततले विभिन्न मुद्दामा फरार रहेका व्यक्तिको लिष्ट पठाउँछ हामी त्यही लिष्ट हेरेर गएका हौं ।’
अदालतले आफ्नो सूचिबाट मृत्यु भईकेका व्यक्तिको लगत कट्टा नगर्दा आफूहरु मृत्यु भईसकेका व्यक्ति विरुद्धको पक्राउ पुर्जि लिएर पुगेको उनले सुनाए । ‘हामी त अदालतको आदेश मानेर गएका हौं, त्यहाँ पुग्दा हामीले मान्छे त २२ वर्ष पहिले नै मरिसकेको खबर पायौं । हामीले अदालतलाई यही जानकारी गराउँछौ ।’
तर, केशवराजलाई पक्राउ गर्न गएको प्रहरीलाई परिवारले उनको मृत्यु भइसकेको जानकारी गराउँदा अदालतमा मृत्यु दर्ता पेश गर्न भनेको बताउँछ । ‘हामीले मृत्यु भइसकेको जानकारी गराउँदा प्रहरीले मृत्युदर्ता पेश गर्नु भनेको छ,’ रोशनले भने ।