कतारबाट नेपालले के सिक्ने : सानो मुलुकले कसरी बनायो ठूलो हैसियत ?

कतारबाट नेपालले के सिक्ने : सानो मुलुकले कसरी बनायो ठूलो हैसियत ?

सन् २०२१ को अगस्ट १५ मा विद्रोही मात्र होइन आतंककारी नै घोषित तालिवानको सत्ता आरोहणसँगै विश्व-राजनीतिमा एक प्रकारको तरङ्ग आएको थियो । त्यो तरङ्ग अझै शान्त भएको छैन । कैयन्को मनमा अझै कसरी अफगानिस्तानमा तालिवान एक्कासी सत्तामा पुग्यो भन्ने नै छ । हुन त यो विषयमा विभिन्न मुलुकको धारणा छरपस्ट भए पनि केही मुलुकले आफूलाई संयम राख्न सके । दक्षिण एशियाली मुलुक भनेर चिनिएको अफगानिस्तान संस्कृति र प्राकृतिक स्रोतको धनी मुलुक भएर पनि शक्तिको चपेटामा परेर साँच्चै संकटमा छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तान आगामी दिनमा कसरी अघि बढ्छ, यसै भन्न सकिने अवस्था अहिले छैन । तर त्यो मुलुकमा तालिवानी सत्तामा पुग्नु र अरेबियन मुलुक कतारले त्यहाँको वार्ताको मेलो मिलाउने काम गर्नु पक्कै चानचुने थिएन ।

धेरैलाई लाग्न सक्छ कतारले कसरी अमेरिका र तालिवानबीच वार्ता गरायो ? तर कतारले अहिले विश्वमा आफूलाई हैसियत भएको मुलुकको सूचीमा उभ्याएको छ । सबै मुलुकको विश्वासपात्र समेत बनेको छ । अन्य ठूला अरेबिक मुलुकको चेपमा रहेर साँच्चै उदाएको अरेबिक कतारले अफगानिस्तानको विषयमा मध्यमार्गी भूमिका निर्वाह गर्‍यो । अन्य अरेबिक मुलुक भने कोही अमेरिकाको पक्षमा, कोही विद्रोहीको पक्षमा देखा परेको स्पष्ट नै छ ।

अर्गनाइजेशन अफ इस्लामिक कर्पाेरेशन (ओआईसी) मा ५७ मुलुक छन् भने यसको नेतृत्व साउदी अरेबियाले नै गर्छ । यसको कार्यालय पनि साउदी अरेबियाको जेद्दामा छ । उनीहरूले अफगानिस्तानी तत्कालीन सत्तारुढ नेतृत्वलाई समर्थन गरे पनि कतारले झैं तटस्थता देखाउन सकेनन् । झन् मध्यएशियाली मुलुकले त आफ्नोमा शरणार्थी आउँछन् भनेर सामूहिक प्रयासमा सीमा क्षेत्रमा नै सतर्कता अपनाउन निर्देशन नै दिए । त्यसबाट निस्केर तुर्कमेनिस्तानले तालिवानसँग राम्रो सम्बन्ध राख्यो । सिया बहुल रहेको इरान र सुन्नी बहुल रहेको अफगानिस्तान बीचमा सुन्नी बहुलको आक्रमणको चिन्ता त थियो नै ।

हुन त, सन् १९९८ मा मजार ए सरिफमा आफ्ना एक पत्रकार सहित नौ जनालाई हत्या गरेको कुरालाई लिएर आरोप लगाउँदै आक्रमण समेत गर्ने धम्की दिइराखेको इरानलाई अफगानिस्तानले मत्थर गराउने काम गरेको थियो । इरानी विदेश मन्त्रीलाई अफगानी मन्त्रीले भेटेर सहकार्यमा जोड दिएपछि सम्बन्ध सामान्य भएको मानिन्छ । तर इरान सधैं आफ्नो सिया समुदायको कारणले गर्दा सुन्नी मुसलबानबीचमा आफूलाई ‘स्यान्डबीच कन्ट्री’ नै मान्छ । त्यो अवस्था उसकोमा निम्तिएको देखिन्छ नै ।

साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स -यूएई) दुवै सुन्नी बहुल मुलुक हुन् । शायद यसैले हो कि उनीहरूले अफगानिस्तान सरकार र तालिवानीप्रति समान व्यवहार राखे । तर, उनीहरूले भन्दा कतारले सम्बन्धलाई बढी जोड दियो । यद्यपि साउदीले आˆनो इन्धन र सैन्य रणनीति दुवैलाई लिएर अमेरिकासँग पनि सम्बन्ध राखिरहेको छ । तर कतारले आफूलाई त्यही बीचबाट पनि माथि उठाएर सहकार्यमा जोड दियो ।

टर्की र पाकिस्तानको सम्बन्ध पनि राम्रो छ । जसको कारण पाकिस्तानले जुन तरहले तालिवानलाई लिन्छ त्यही स्तरको सहकार्य टर्कीबाट पनि हुन्छ । यद्यपि तालिवानले आफ्नो आन्तरिक मामिलामा दक्खल नदिन पाकिस्तानलाई भनेपछि टर्की पनि झस्किएको छ । तर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानले तालिवानको मामिलामा हस्तक्षेप नगरेको भन्दै सफाइ दिइरहेका छन् । तालिवानलाई आफ्नो पक्षमा लिएर पाकिस्तानले अमेरिकासँग विभिन्न किसिमको ‘डिल’ गरिरहेको र गर्न खोजेको देखिन्छ । जुन तुहिएको छ । खाडीको यो तरहको राजनीतिमा ठूला भनिएका मुलुकलाई उछिनेर सानो मुलुक कतारले आफ्नो हैसियत निकै माथि पुर्‍याएको छ ।

सन् २०१३ देखि नै अमेरिका र तालिवानको मध्यस्तताको लागि दोहामा तालिवानलाई राजनीतिक कार्यालय खोल्नसम्म कतारले दिएको छ । सँगै सन् २०२० देखि अमेरिकालाई अफगानिस्तानबाट फर्काउन आफ्नो मध्यस्ततामा सम्झौता गराए । यो पाटोबाट स्पष्ट हुन्छ ठूला मुलुकको बीचमा रहेर साना मुलुकले पनि प्रभावकारी कूटनीतिक जिम्मेवारी बहन गर्न सकेका छन् ।

पूर्वमहाराज शेख खलिफा बिन हमदको शासनकाल नै कतारको स्वणिर्म युगको रूपमा ठहर भएको छ । शेख खलिफाको मिहिनेतलाई कतारी नागरिक अहिले पनि स्मरण गर्छन् । उनले आफ्नो मुलुक बनाउन विदेशी कामदार लगे । त्यसैले कतार कहिल्यै पछि फर्कनु परेन
हुन पनि कतारमा पेट्रोल र प्राकृतिक ग्याँसको भण्डारण मात्र होइन, त्यहाँको फराकिलो सोच र मुलुक बनाउने योजनाले नै यो तहमा कतारलाई पुर्‍याएको हो । विश्वको सबैभन्दा धनी मुलुकको सूचीमा आफूलाई पार्न सफल कतार यतिबेला विश्वका सबैभन्दा अधिक अरबपतिहरू बस्ने मुलुकमा सिंगापुरपछि भन्दा ठीक पछाडि छ । कतारमा १८० मुलुकका २५ लाख आप्रवासी कामदार छन् भने त्यहाँ रहेका हरेक नागरिकले आफ्नो मुलुक पनि कतार जस्तो भएको हेर्न चाहन्छ ।

झन् पछिल्लो समय नाकाबन्दीमा कतारले अपनाएको नीति तथा अन्तर्राष्ट्रिय समुदायमा व्यक्त धारणालाई नियालेर पनि कतारको अवस्था र परिपक्वतालाई स्मरण गर्न सकिन्छ । कतारले समस्या समाधान वार्ताबाट गर्न सकिने तथ्य प्रमाणित गरिदिएको छ । ठूला मुलुकलाई कसरी आफ्नो पक्षधर बनाउने र कसरी कूटनीतिक गतिमा दौडने भन्ने स्पष्ट पारेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद र सुरक्षामा अघि बढाएको गुरुयोजनाले एक दशक नाघ्दै गर्दा हासिल गरेको तथ्यांक साँच्चै लोभलाग्दो रहेको कतारले साना मुलुकले बनाउने हैसियतको मार्गनिर्देशक कतार बनेको छ ।

ठूला मुलुकसँगको सहकार्यमा अघि बढेको कतारले साँच्चै आफूलाई निकै माथिको तहमा लगेको छ । हुन त, कतारले अफगानिस्तानमा शान्ति स्थापनाको लागि अफगान तालिवान र संयुक्त राज्य अमेरिकाबीच मात्र होइन लेवनान र सुडानका विवादहरूमा नै चासो देखाएर सहकार्य गर्न अघि बढेको थियो । आˆनै छिमेकी देशहरूले लगाएको कडा नाकाबन्दी र कूटनैतिक सम्बन्धविच्छेदलाई कतारले साँच्चै संयम भएर धैर्यपूर्वक र साहसका साथ डटेर नै अघि बढेर संकट व्यवस्थापन गरेको थियो ।

हैसियत बनाउँदै साना मुलुक

हुन त विश्व मानचित्रमा साना देखिएका मुलुकले नै पनि विगतमा विश्व-राज गरेको पढेकै हौं । सानै मुलुक भए पनि बुद्धिले अरूलाई राज्य गरेको हामीले भुल्नुहुँदैन । स्वीस राजनीतिक लेखक आर जेम्स ब्रेइडिङ्गले आˆनो पुस्तक ‘टू स्मल टु फेलमा’ अब साना मुलुक पनि बलियो उपस्थितिमा छन् भनेर १२ मुलुकको उदाहरण दिएका छन् । उनका अनुसार क्षेत्रफल र प्रतिव्यक्ति आयमा कुनै किसिमको सम्बन्ध छैन । वल्र्ड इकोनमिक फोरममा प्रकाशित २०१७/२०१८ ग्लोबल कम्पिटिटिभ रिपोर्ट अनुसार विश्वका दश उत्कृष्ट इकोनोमीमा सात साना मुलुक नै परेका छन् । अनि दश साना मुलुक नै विश्वकै सबैभन्दा बढी प्रजातान्त्रिक मुलुकमा गनिन्छन् ।

र, वल्र्ड हृयापिनेश रिपोर्ट २०१९ अनुसार दश खुशी मुलुकमा पनि साना नै छन् । यस आधारमा कतार अहिलेको सानो र प्रभावकारी मुलुक हो भन्दा अतिशयोक्ति नहोला । हुन पनि इतिहास नियाल्ने हो भनेे कतारको प्रमुख आयस्रोत माछा मार्नु र समुऽमा मोती खोज्नु नै थियो । त्यो व्यवसाय राम्रै जमे पनि त्यसको स्थान जापानी मोतीले लियो । कतार संकटमा पर्दै गयो । गरीबी र खानामा समेत अनेक असहजता पर्न थाल्यो, कुपोषण बढ्दै गयो । त्यस्तो कतारले आफूलाई तीन दशकमा नै कायापलट गरेको छ । कतारी अघिल्लो पुस्ताले दुख्खान भन्ने स्थानमा पेट्रोलको कुवा पाए । सन् १९३९ मा त्यो कुवा पाए पनि विश्व नै द्वन्द्वमा रहेको कारण कुनै लाभ उठाउन कतारले नसके पनि कुवा पत्ता लागेको दश वर्षपछि कतार कच्चा तेलको निर्यात गर्ने प्रमुख मुलुक बन्न पुग्यो ।

त्यसपछि कतारले कहिल्यै पछि फर्कनु परेन । हुन पनि पूर्वमहाराज शेख खलिफा बिन हमदको शासनकाल नै कतारको स्वणिर्म युगको रूपमा ठहर भएको छ । शेख खलिफाको मिहिनेतलाई कतारी नागरिक अहिले पनि स्मरण गर्छन् । उनले आफ्नो मुलुक बनाउन विदेशी कामदार लगे । हुन पनि आप्रवासीका पिता मानिने शेख खलिफा नरम स्वभावका कुशल शासक थिए । उनले विश्वका हरेक मुलुकबाट आफ्नो मुलुकमा कामदार ल्याए । जुन प्रक्रिया अझै चलिरहेको छ ।

यसरी प्रगति गरेको कतारमा अहिले धनी मुलुकका नागरिक पनि कतारीका लागि कार्यरत छन् । सामान्य मजदूरदेखि उच्च तहमा विदेशी कामदारमा अघि बढेको कतारले आफ्ना नागरिक अपुग भएर विदेशमा खोलिएको दूतावासमा समेत विदेशी कामदार लगेर काम गराएको उदाहरण पाउन सकिन्छ । अन्य खाडी मुलुकसँग श्रम सम्झौता नभए पनि कतारले सम्झौता नै गरेर नेपालसँग कामदार लगेको छ । कतार खाडी मुलुकहरूमा विश्वकप फुटबल आयोजना गर्ने पहिलो मुलुक पनि बनेको छ । त्यसका लागि उसले विश्व-राजनीतिमा लिएको नीति साँच्चै लोभलाग्दो छ । त्यो कार्य अन्य साना मुलुकले पनि सिक्न आवश्यक छ । झन् नेपाल जस्तो मुलुकले कतारसँग सिक्ने धेरै आधार छन् ।

पछिल्लो समय सन् २०२२ को विश्वकप आयोजक भनेर चिनिएको कतारले खेल जगतलाई नै अचम्मित गर्ने अन्तर्राष्ट्रियस्तरका ‘इको फ्रेन्ड्ली’ रंगशालाहरूको निर्माण मात्र गरेन, आगन्तुक दर्शक तथा सञ्चारकर्मी र पाहुनाहरूको निम्ति गरिएको व्यवस्थापन पनि उत्तिकै लोभलाग्दो छ । छिमेकी सबै मिलेर नाकाबन्दी लगाउँदा पनि धक्का लगाउन नसकेको कतार विश्वकपको आयोजना पछि विश्व राजनीतिमा साँच्चै सक्रिय राजनीतिक खेलाडीको रूपमा उदाउनेछ । त्यसलाई विश्व जगतले चासोको रूपमा नियाल्दै सिक्नुपर्ने विषय रहेको भुल्न नहुने निष्कर्ष पनि निकालिएका छन् ।

(काठमाडौं विश्वविद्यालयबाट ‘टीम लीडरसिप’ मा पीएचडी सकेका लेखक कूटनीतिमा बढी चासो राख्छन् ।)