अमेरिकाबाट आएका राजनलाई लिउन काठमाडौँ गएकी श्रीमती पनि विमान दुर्घटनामा

अमेरिकाबाट आएका राजनलाई लिउन काठमाडौँ गएकी श्रीमती पनि विमान दुर्घटनामा

पोखराको हेमजा हनुमान चोकका राजन सापकोटाको घरमा आज बिहानैदेखि खुसियाली थियो । एक त माघे सङ्क्रान्ति पर्व अर्कोतर्फ अमेरिकाबाट आउँदै गरेका राजन ।अमेरिकाबाट शनिवार काठमाडौँ झरेका सापकोटालाई लिन उनकी श्रीमती आशिका हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पती यति एअरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै विमान दुर्घटनामा पर्‍यो

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन् । उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डीभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गएको वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गएको वर्ष माघको १९ गते विवाह गरेका सापकोटा फेरि अमेरिका फर्की शनिवारमात्रै नेपाल आएका हुन् । उनका काका प्रकाशचन्द्रका अनुसार घरपरिवारसँग भेटघाट गरेर फर्कने गरी राजन नेपाल आएका थिए ।

Europass CV in Nepal

‘दुर्घटनाको खबरसँगै हामी छरछिमेक सबै शोकमा डुबेका छौँ’, उनले भने । उता दुर्घटनाले आशिकाका माइतीहरू पनि शोकमा छन् । सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि त्यस विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिवार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार/चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।

चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार यति एयरको जहाज आज बिहान दुर्घटना हुँदा अहिलेसम्म ६९ जनाको शव निकालिएको छ । बेपत्ता भएका तीनजनाको खोजी कार्य जारी रहेको छ ।