काठमाडौँ । चर्चित लोकगायक पशुपति शर्मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्नबाट जोगिएका छन् । गायक शर्माले आफुँ सोही बिमानमा आउने तयारीमा रहेको तर समय नमिल्दा आफुँ जोगिएको बताएका छन् । उनका अनुसार, आज पोखरा आउने कार्यक्रम केही दिन अगाडि सरेकोले आफु दुर्घटनामा पर्नबाट जोगिएको बताए।
उनले एक मिडियासँग कुरा गर्दै भने, खासमा म यहि विमानमा आज पोखरा आउने तयारीमा थिए । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा म दुई दिन अघि नै बुद्ध एयरबाट पोखरा आएँ’, शर्माले भने ‘काठमाडौं फर्कन फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा नमज्जा लाग्यो । रुन मन लाग्यो ।’ ‘अहिले त भाग्यले बाँचियो । भोलि पनि हिँडिरहनुपर्छ । कसले देखेको छ र ?’ उनले थपे ।
देशका बिभिन्न ठाउँमा मेला महोत्सव चलिरहेकाले अहिले त्यसैको सिलसिलामा आफु उपत्यका बाहिर रहेको शर्माले बताएका छन् । आज उनी स्याङ्जातर्फको कार्यक्रममा पुगेका छन् । ६८ जना यात्रु र चालक दलका ४ सहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको हो ।
उक्त विमान दुर्घटनामा परी स्टेज कार्यक्रमकै शिलशिलामा पोखरा हिँडेकी लोकप्रिय लोकदोहोरी गायिका निरा छन्त्याल पनि परेकी छन् । उनको अवस्था पनि अहिलेसम्म अज्ञात छ ।