दुर्घटनापश्चात सबै एटीआर जहाजमा परीक्षण, कुनै पनि विमानमा त्रुटि फेला परेन

दुर्घटनापश्चात सबै एटीआर जहाजमा परीक्षण, कुनै पनि विमानमा त्रुटि फेला परेन

२ माघ, काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ ।

नेपालका सबै वायुसेवा कम्पनीबाट नियमित उडान योग्यताका लागि चाहिने दैनिक परीक्षण, उडानपूर्व गरिने परीक्षण, निश्चित अन्तरालमा गरिने परीक्षण जस्ता कामहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा सिफारिस र वायुयान निर्माता कम्पनीको मापदण्ड अनुसार हुने गरेको समेत निरौलाले जनाएका छन् । दुर्घटनालगत्तै बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सबै जहाजको परीक्षण गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल फुटेज आइतबारको दुर्घटनाको होइन

Europass CV in Nepal

आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनाका बेला खिचिएको भन्दै भाइरल भइरहेको एक भिडियो उक्त दुर्घटनासँग सम्बन्धित नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता निरौलाले उक्त भिडियो अन्य कुनै जहाजको भएको बुझिएको बताए । ‘यस घटनालाई जोडेर भ्रम फैलाउने हिसाबले कसैले गलत सूचना सम्प्रेषण गरेको देखिन्छ’ उनले भने ।

प्राधिकरणले स्वतन्त्र र निष्पक्ष छानबिनको लागि नेपाल सरकारले जाँचबुझ समिति गठन गरिसकेको भन्दै विमान दुर्घटनासम्बन्धी घटनालाई जोडेर कुनैपनि व्यक्ति, संस्था, सम्बन्धित निकाय र पूर्व कर्मचारीलाई जथाभावी नबोल्न समेत भनेको छ ।

प्रवक्ता निरौलाले छानबिन समितिले यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरेर रिपोर्ट बाहिर ल्याउने भन्दै घटनाका विषयमा अड्कल अनुमान गर्नु वाञ्छनीय नहुने बताए । उनले कोही पनि व्यक्तिले आफ्नो अनुमानको भरमा विज्ञता दर्शाउनुपर्ने आवश्यकता नरहेको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गरेको प्रेस विज्ञप्ती र प्राधिकरणका बहालवाला आधिकारिक व्यक्तिबाट प्रशारित समाचार बाहेक अरुलाई विश्वास नगर्न र त्यस प्रकारका खण्डनहरुलाई विश्वास नगरी प्राधिकरणका सत्यतथ्य सूचनाहरु जानकारीमा राख्न प्रवक्ता निरौलाले आग्रह गरे ।