काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराती मन्त्री हुने भएका छन्। मंगलबार विस्तार हुन लागेको मन्त्रिपरिषदमा माओवादीले उनलाई पर्यटन मन्त्री बनाउने भएको छ।
किरातीले मन्त्री हुने भएपछि आफ्नो बुवासँग भएको संवाद सार्वजनिक गरेका छन्। आफ्नो पिताले मन्त्री हुने कुरा नपत्याएको बताउँदै ‘सपनामा कि बिपनामा’ भनेर सोधेको किरातीले उल्लेख गरेका छन्। उनका बुवा हर्कबहादुर राई प्यारालाइसिसका कारण अहिले ओछ्यानमै छन्।
यस्तो छ किरातीले सार्वजनिक गरेको संवाद् :
म : बुवा म मन्त्री हुने भए छु। बुवा : हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो? म : हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)
बुवा : मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस्? म : पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो। बुवा- राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें!
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो…। बुवा- हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू। म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए…।
बुवा- म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म…! सम्झे! बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक।
‘मन्त्रालय जहाज हो, म ककपिटमा छु’
मन्त्री किरातीले मन्त्री हुनुको श्रेय जन्मदिने बुबाआमादेखि यो भूमिकामा पुर्याउने नेकपा माओवादी पार्टी रहेको स्मरण गरे। उनले पर्यटन मन्त्रालयलाई जहाजको संज्ञा दिए र आफू जहाजको ककपिटमा रहेको बताए । ‘जहाजको ककपिटमा म बस्ने भएपनि इन्जिनहरु त सचिवज्यू लगायत कर्मचारी नै हो,’ उनले भने, ‘हामीले जहाज एकैचोटी स्टार्ट गर्ने छैनौं, जहाज चेक गर्नेछौं, गन्तव्य निर्धारण गर्नेछौं र त्यसपछि मात्र जहाजलाई स्टार्ट गर्नेछौं ।’
मन्त्री किरातीले कर्मचारीलाई पहिलो सन्देश दिए, ‘नातागोता र सोर्सफोर्सबाट कोही व्यक्ति आउँछ भने त्यो मबाट हुँदैन ।’ जातीय, क्षेत्रीय र लैङ्गिक हिसाबले भेदभाव नगर्ने भन्दै उनले कार्य सम्पादनका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए ।
मन्त्री किरातीले आइतबार पोखरामा भएको जहाज दुर्घटनाको छानबिन गर्न गठित जाँच आयोगलाई काम गर्न सहज वातावरण बनाउने बताए । हवाई सुरक्षामा कडाइ गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै यस क्षेत्रलाई जोखिममुक्त बनाउन पहल गर्ने पनि उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग नेपालको हवाई सुरक्षाका विषयमा आजैदेखि छलफल थाल्ने पनि मन्त्री किरातीले बताए । ‘के कारणले यति ठूलो दुर्घटना भयो, नेपाली आकाश किन सुरक्षित छैन, विश्वमा आज किन नेपालको आकाशप्रति शंका गर्छन्’, उनले भने, ‘मापदण्डलाई किन पुरा गर्न सकेका छैनौं, भन्नेबारे जानकारी लिदैछौं ।’
खादाको पैसा दान लिने
पर्यटनमन्त्री किरातीले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन आग्रह गरे । त्यसको साटो अब मन्त्री निवास र आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने घोषणा उनले गरे ।
‘खादा, माला, फूल किन्ने पैसालाई संकलन गर्न हामी एउटा सहयोग पेटिका बनाउँछौं,’ उनले भने, ‘यो रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौं, मेरो तर्फबाट एक महिनाको सुविधा यहाँ लगाउने छु, मेरो सचिवालयको तर्फबाट १५ दिनको सुविधा दिन लगाउने घोषणा गर्छु ।’
मन्त्रालयका कुनै पनि चिज (पर्दा, कुर्सी, कार्पेटतर्फ संकेत गर्दै) नफेर्न समेत उनले कर्मचारीसँग आग्रह गरे । मुलुकको अर्थतन्त्र दर्दनाक रहेको भन्दै जे छ, त्यसमै काम चलाउन समेत मन्त्री किरातीले आग्रह गरे ।
मन्त्री किरातीले पर्यटन मन्त्रालय, मातहतका निकाय र देशभरका सबै कार्यालयको शौचालय मन्त्रीको जस्तै बनाउन निर्देशन दिए । काम गर्ने वातावरण राम्रो हुनुपर्ने भन्दै उनले शौचालय सफा हुनुपर्ने बताए । मन्त्रालयका विसंगती हटाउने उनको प्रतिबद्धता छ ।
‘सम्पदालाई प्रकृतिसँग जोड्ने अभियान चलाउँछु’
मन्त्री किरातीले पर्यटन प्रबर्द्धनको अभियान चलाउने बताए । सम्पदालाई प्रकृतिसँग जोड्ने र प्रकृतिलाई मानवसँग जोड्ने गरी अभियान चलाउने उनको भनाइ छ ।
केही ठाउँमा पाइलट प्रोजेक्टका रुपमा यस्तो काम सुरु गर्ने उनले बताए । यो सांस्कृतिक पर्यटनको अवधारणा हुने उनको भनाइ छ । नेपालमा रहेका र विश्वले फोटोकपी गर्न नसक्ने तीनवटा सम्पदालाई सम्बर्द्धन र विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।
उनले पशुपतिनाथ, लुम्बिनी र सगरमाथालाई प्रबर्द्धन गर्न प्राथमिकता दिने पनि बताए । उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको गेमचेन्जर आयोजना भएको पनि बताए । ‘यो जरुरी छ, यसलाई तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सम्पूर्ण बल लगाउने छौं’ उनले भने ।
नेपाल वायुसेवा निगमबारे भने ठूलो चूनौती रहेको उनले स्वीकार गरे । नेपाल एयरलाइन्सको सुधारबारे सरोकारवालासँग सल्लाह गरेर निर्णय लिने उनले बताए । ‘निगमको परिस्थिति हेर्दा हात्तीको घोडा धेरैले चढे, बाघको घोडा चढेजस्तै अनुभूति मैले गरेको छु, यसलाई हामी सम्पूर्ण शक्ति लगाएर नेपालको जहाज ध्वजाबाहकलाई गौरवमय बनाउने छौं’ किरातीले भने ।