मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 28 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सामाजिक संजालमा भाइरल हुँदै तिलक सिंह पेलाको गजल ‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’

Himali Patrika 1 मिनेट पढाइ

डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको यो गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ । टाइमलाइनमा यो गीतलाई अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले नै मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो ।

यो गजल सुनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी लेख्छन्, ‘खाँटी सृजना, स्वर र साधक कहिल्यै ओझेल पर्दैनन् । बरु कर्कस चिच्याहटहरु कुनै कालखण्डमा हाबी भएको देखिन्छ । तर यो सत्य हो कि केबल आफू मात्र बाँच्ने कि संगीत सिर्जना पनि बचाउने त्यो अत्यन्त महत्वपूर्ण चिन्तन हो । हार्दिक बधाई धन्यवाद यो साधना शिल्पी र स्वरका लागि श्रद्वेय श्रष्टाज्यूहरुमा ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् । रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको यो गीतको स्वर पनि निकै सुमधुर सुनिन्छ । काठमाडौंको सानो भर्‍याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका तिलक सिंह पेलाको स्वरले प्रशंसा कमाइरहेको छ ।

गीतका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेलले यो गीतको लोकप्रियता अनपेक्षित रहेको बताए । ‘बनाउने बेलामा यत्तिको हिट होला भनेर हामीले आशा राखेका थिएनौं । ५०० देखि हजार भ्युज मात्र भए पनि हुन्छ भन्ने लागेको थियो । तर अहिले जुन किसिमले भ्युज मिलिरहेको छ यसले गजलका श्रोता अझै पनि हुनुहुन्छ भन्ने हामीलाई बोध भएको छ,’ कँडेलले अनलाइनखबरसँग भने ।

सम्बन्धका हिसाबले गायक पेला र एरेन्जर कँडेल गुरुचेला हुन् । नौ कक्षा पढ्दै गर्दा कँडेलले पेलाबाट संगीतको कखरा सिकेका थिए । यो गीतको रेकर्डिङ र एरेन्ज गर्दा उनले ३० हजार रुपैयाँ पनि लिएका छन् ।

‘पहिले पनि गुरुको भिडियो गरेकै हुँ । तर यसपटक नसोचेको रेस्पोन्स आइरहेको छ । म क्लासिकल संगीतको ब्याकग्राउण्डबाट आएकाले पनि गजल बनाउने योजना बन्यो,’ कँडेल भन्छन्, ‘यतिबेला किन चल्यो भन्ने कुराको उत्तर खोजिरहेका छौं ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।