जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टरलाई सात दिन निलम्बन गरेर छानबिन गरिने

जीवित शिशुलाई मृत घोषणा गर्ने डाक्टरलाई सात दिन निलम्बन गरेर छानबिन गरिने

जीवित शिशुलाई मृत घोषणा गर्ने कोसी अस्पतालका डा. आकाश यादवसहित तीनजना सात दिनका लागि निलम्बनमा परेका छन् । अस्पतालले इमर्जेन्सीमा कार्यरत डा. यादव तथा अहेवद्वय लक्ष्मण माझी र टीका अधिकारीलाई निलम्बन गरेको हो ।

अस्पतालले घटनाको विस्तृत छानबिनका लागि बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनका तर्फबाट रामप्रसाद नेपाल सदस्य छन् ।

अस्पतालका निमित्त प्रमुख डा. लक्ष्मीनारायण यादवले समितिले सात दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउने र उपचारमा संलग्नहरू दोषी देखिए थप कारबाही गरिने बताए । ‘बालकको उपचारमा संलग्नलाई तुरुन्त स्पष्टीकरण सोधेर निलम्बन गरिसकेका छौँ । घटना संवेदनशील भएकाले छानबिनका लागि समिति पनि गठन गरिएको छ । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउँछ । प्रतिवेदनअनुसार दोषी देखिए संलग्नमाथि थप कारबाही हुन्छ,’ उनले भने ।

Europass CV in Nepal

मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान १८ दिनकी छोरीलाई कोसीको आकस्मिक कक्षमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाशले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेका थिए । आफू सम्हालिँदै र पत्नीलाई सम्झाउँदै दिलीप छोरीलाई लिएर घर फर्किएका थिए ।

दाहसंस्कारका लागि तयारी चल्दै गर्दा अकस्मात् शिशुका हातगोडा चलमलाएपछि परिवारले तत्काल विराटनगरकै गोल्डेन अस्पताल पुर्‍याएको थियो । त्यसपछि पीडित परिवारले जीवित शिशुलाई मृत घोषणा गरेर चिकित्सकले लापरबाही गरेको भन्दै अस्पतालमा आन्दोलन गरेका थिए । डा. आकाशमाथि आक्रमण पनि गरेका थिए ।

शिशुको स्वास्थ्यमा सुधार
गोल्डेन अस्पतालमा उपचाररत शिशुको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सक र परिवारले जनाएका छन् । उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. सतिश यादवले भने, ‘अत्यधिक चिसोका कारण शिशुको अवस्था नाजुक थियो । हामीले तत्काल अक्सिजन दियौँ र तातो बनायौँ । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’ शिशुका बुबा दिलीपले पनि भेन्टिलेटरमा उपचार भइरहेको छोरीको स्वास्थ्यमा सुधार आएको बताए । ‘छोरीको स्वास्थ्यमा सुधार छ । डाक्टरहरूले दुई–तीन दिनमा डिस्चार्ज हुन्छ होला भन्नुभएको छ,’ दिलीपले भने ।