मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 27 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सासू-ससुरासहित चार जनालाई जन्मकैद

Himali Patrika 1 मिनेट पढाइ

हेटौंडा ।  जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका-४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो ।

सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बीभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडिबाट काठले हिर्काएको प्रहरी अनुसन्धानमा खुलेको थियो । सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् ।

भान्सामा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।

उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो । अदालतको फैसलाप्रति खुसी हुँदै सुस्मिताकी आमा गंगाले अदालतको फैसलाबाट अपराधीहरुको मनोबल गिर्ने आस व्यक्त गरिन् । ‘यो फैसलाले मेरो छोरीले न्याय पाइन्’, उनले भनिन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।