सुपरस्टार राजेश हमाल जुन समुदायको बाहुल्यता रहेको क्षेत्रमा पुग्छन्, त्यहाँ उनी त्यस समुदायको भाषा, संस्कृति तथा भेषभुषामा आफूलाई ढाल्ने गर्छन् । मधेश झर्दा धोती, गम्छा र कुर्था लगाउँछन् अनि हिमाली र पहाडी क्षेत्र पुग्दा शेर्पा पहिरनमा ठाटिन्छन् । र, त्यहीँको भाषा बोल्ने प्रयास गर्छन् । सजिलै घुलमिल हुनसक्ने यही विशेषताले नै हमाल हरेक समुदायका प्रिय पात्र बनेका छन् ।
शनिबार भक्तपुरको प्रसिद्ध दुई पोखरीमा भएको ‘चौंथो एपिक नेपाल अवार्ड’मा हमाल नेवारी पहिरनमा उपस्थित भए । उनीसँगै श्रीमती मधु भट्टराई पनि नेवारी पहिरनमा सजिएर अवार्ड कार्यक्रममा पुगेकी थिइन् । हमाललाई नेवारी परिहनमा देख्दा त्यहाँका स्थानीयहरुको अनुहारमा खुसीको चमक देखिएको थियो । उक्त कार्यक्रममा उनलाई हेर्नकै लागि विशाल भीड ओर्लिएको थियो ।
सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ को संयुक्त सहकार्यमा भएको अवार्ड कार्यक्रममा हमाललाई एक लाख एक हजार एक सय एघार राशीको ‘महानायक’ सम्मान समेत प्रदान गरियो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई सम्मान प्रदान गरेका हुन् । उक्त अवसरमा अध्यक्ष ओलीले हमालको प्रशंसा समेत गर्न भ्याए ।
विभिन्न संघ-संस्थाहरुले हमाललाई ‘महानायक’ उपाधिबाट सम्मान गर्दै आएको भए पनि बेला बखतमा यो उपाधिलाई लिएर विवाद हुने भएको छ । त्यसबेला फिल्म क्षेत्र र दर्शक नै दुई कित्तामा विभाजित हुने गरेका छन् । तर, उनलाई ‘महानायक’ मान्नेको जमात ठूलो छ । र, हमालले पनि यस उपाधिको सम्मान ग्रहण गर्दै आएकाले उनले आफूलाई ‘महानायक’ स्वीकार गरेको स्पष्ट देखिन्छ ।